४,७०० मिटर उचाइमा फुटबल सपना : जहाँ ट्रफी होइन, केरा र तरबुजा पुरस्कार बन्छन्

ड्रागन मिडिया समाचार कक्ष
विश्वभरिका फुटबलप्रेमीको ध्यान फिफा विश्वकपका चर्चित खेलाडी, भव्य रङ्गशाला र सुनौलो ट्रफीमा केन्द्रित भइरहेका बेला चीनको सिचाङ स्वायत्त प्रदेशका बालबालिका भने समुद्री सतहबाट चार हजार ७०० मिटर उचाइमा आफ्नै फुटबल सपना पछ्याइरहेका छन्।
यहाँ विजेताले विश्वकप ट्रफी पाउँदैनन्। पुरस्कारमा कहिले केरा, स्याउ र तरबुजा हुन्छन्, कहिले बन्दाकोबी, अङ्गुर वा लुगा धुने डिटर्जेन्ट। उत्तर अमेरिकामा भइरहेको विश्वकपभन्दा आधा संसार टाढा रहेको यो उच्च पठारमा पुरस्कार सामान्य भए पनि फुटबलले दिने खुसी, उत्साह र गौरव भने उस्तै छ।

नाग्छुको ल्हारी काउन्टीस्थित जाङ्बी टाउनशिपमा पशु राख्ने गोठसँगैको खाली जमिनलाई स्थानीय बालबालिकाले फुटबल मैदान बनाएका छन्। माटोका डिलले मैदानको सीमा छुट्याउँछन् भने काठका खम्बा गोलपोस्ट बनेका छन्। यहाँ दर्शकदीर्घा, सम्याइएको घाँसे मैदान वा व्यवस्थित गोलपोस्ट छैन। तर खेलप्रतिको समर्पणमा कुनै कमी देखिँदैन।
यो मैदान र यहाँ हुने प्रतियोगिताका मुख्य योजनाकार २२ वर्षीय गोठाला सोनाम जिग्मे हुन्। विद्यालयबाट सप्ताहान्तमा चरन क्षेत्रमा फर्किने बालबालिकाका लागि उनी प्रशिक्षक, रेफ्री र प्रतियोगिता आयोजक तीनवटै भूमिका निर्वाह गर्छन्।

उनले उपलब्ध गराउन सक्ने सामग्रीकै आधारमा प्रतियोगिताको नाम र पुरस्कार निर्धारण हुन्छ। पुरस्कार केरा भए ‘केरा कप’, तरबुजा भए ‘तरबुजा कप’ र बन्दाकोबी भए ‘बन्दाकोबी कप’ आयोजना गरिन्छ। कार्डबोर्डका बाकस जोडेर विजेताको पोडियम बनाइन्छ भने गोठालाले प्रयोग गर्ने परम्परागत गोफनलाई विजेताको काँधमा पटुकाझैँ लगाइन्छ।
रेफ्रीको सिटी बज्नासाथ बालबालिका बलतर्फ दौडिन्छन्। कसैको जुत्ताको तुना फुस्किए पनि दौड रोकिँदैन। कोही लडेर धुलो टक्टक्याउँदै फेरि उठ्छन्। पास सधैँ सही ठाउँमा पुग्दैनन् र धेरै प्रहार गोलपोस्टबाहिर जान्छन्, तर प्रयास कसैले छाड्दैन।

गोल गरेपछि एक खेलाडीले दुवै हात फैलाएर क्रिस्टियानो रोनाल्डोको चर्चित शैलीमा मैदानभरि दौडिन्छ। मैदानको छेउमा बसेका साना बालबालिका चिच्याउँदै समर्थन गर्छन्। तीव्र पठारी हावाले उनीहरूको आवाज टाढा पुर्याउँछ, तर केही क्षणमै अर्को गोलसँगै नयाँ उत्साह सुनिन्छ।
यही मैदानमा खेल्ने नौ वर्षीया ड्रोल्कार ल्हामोले सात वर्षको उमेरदेखि आफ्ना दुई दाजुसँग फुटबल खेल्न शुरु गरेकी हुन्। रक्षापङ्क्तिमा खेल्ने उनी रोनाल्डो र नेयमारको खेलकौशलबाट प्रभावित छिन्।
बन्दाकोबी कप जितिसकेकी ड्रोल्कारको सपना व्यावसायिक फुटबल खेलाडी बन्ने र क्षेत्रीय राजधानी ल्हासासहित अन्य स्थानका ठूला मैदानमा खेल्ने हो। उनको विद्यालय करिब २० किलोमिटर टाढा छ र त्यहाँ सानो मैदान पनि छ। तर सप्ताहान्तमा उनलाई फुटबलसँग जोडिराख्ने स्थान भने गोठछेउको यही साधारण मैदान हो।
सोनामले जुलाई २०२५ देखि बालबालिकाका लागि यो मैदान तयार गर्न थालेका थिए। उनले विस्तारै ढुङ्गा हटाए, काठका खम्बा गाडे र मैदानको सीमा बनाए। पशुपालक परिवारका बालबालिकासँगै उनीहरूको मैदान पनि मौसमअनुसार सर्छ। गर्मीयाममा ग्रीष्मकालीन चरन र बाँकी समयमा हिउँदे चरन क्षेत्रमा प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन हुन्छ।
मैदान साधारण भए पनि सोनाम प्रत्येक खेललाई औपचारिक प्रतियोगिताजस्तै बनाउन प्रयास गर्छन्। खेल शुरु हुनुअघि खेलाडीलाई टोलीअनुसार पङ्क्तिबद्ध गरिन्छ, उनीहरूले एकअर्कासँग हात मिलाउँछन् र त्यसपछि आ–आफ्नो स्थान लिन्छन्। सोनामले मोबाइलबाट खेलाडीको परिचय खिच्दै प्रत्येकलाई आफ्नो नाम र टोली बताउन लगाउँछन्।
उनले हरेक सप्ताहान्तमा २० भन्दा बढी बालबालिकालाई प्रशिक्षण दिन्छन्। विश्वस्तरीय खेलका भिडियो देखाउँदै चर्चित खेलाडीको नाम, जन्मस्थान, सङ्घर्ष र सफलताका कथा सुनाउँछन्। यसरी नै उच्च पठारका ती बालबालिकाले लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र लामिन यामालजस्ता खेलाडीबारे थाहा पाएका हुन्।
सोनाम आफैँ पनि प्राथमिक विद्यालयमा पढ्दादेखि फुटबलप्रति आकर्षित भएका थिए। त्यतिबेला उनको विद्यालयमा न मैदान थियो, न उनीसँग फुटबल बुट नै थियो। माध्यमिक विद्यालय पुगेपछि मैदान त बन्यो, तर व्यवस्थित प्रशिक्षण उपलब्ध थिएन। उच्च माध्यमिक तहको पहिलो वर्षमा उनले केही समय सिचाङको एउटा खेलकुद विद्यालयमा प्रशिक्षण लिएका थिए।
बाल्यकालमा अन्तरिक्ष यात्री वा हजारौँ दर्शकअघि खेल्ने खेलाडी बन्ने सपना धेरैले देख्ने उल्लेख गर्दै उनी बालबालिकाको रुचिलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँछन्। उनका अनुसार अहिलेको प्रयासले बालबालिकाको जीवन रातारात परिवर्तन नगरे पनि आफूले मन पराएको विषय महत्त्वपूर्ण हुन्छ भन्ने आत्मविश्वास दिलाउन सक्छ।
सोनामले सामाजिक सञ्जालमा राखेका बालबालिकाको फुटबल भिडियो यस वर्ष व्यापक रूपमा फैलिन थालेका छन्। भिडियो हेरेका मानिसले नयाँ बल र जर्सी पठाएका छन्। एक कपाल सिङ्गारक त चरन क्षेत्रमै पुगेर प्रत्येक बालबालिकालाई उनीहरूले मन पराएका खेलाडीको जस्तै शैलीमा कपाल काटिदिएका थिए।
भिडियोमार्फत यी बालबालिकामाथि थप मानिसको ध्यान पुग्ने सोनामको अपेक्षा छ। प्रतिभाशाली खेलाडी पहिचान भए उनीहरूले भविष्यमा राम्रो प्रशिक्षण पाउन र अझ ठूलो मैदानमा पुग्न सक्ने उनको विश्वास छ।
पछिल्ला वर्षमा सिचाङका बालबालिकाको जीवनमा फुटबलको पहुँच विस्तार भइरहेको छ। विद्यालयमा फुटबल पाठ्यक्रम, युवा प्रशिक्षण कार्यक्रम र स्तरीय मैदान विकास भइरहेका छन्। सन् २०२५ मा सिचाङका १३ विद्यालय राष्ट्रियस्तरका विशेष फुटबल कार्यक्रम सञ्चालन गर्ने विद्यालयका रूपमा छनोट भएका थिए।
तीन लाख होइन, ३० लाखभन्दा बढी जनसङ्ख्या रहेको सिचाङमा सन् २०२५ को अन्त्यसम्म एक हजार १३६ फुटबल मैदान निर्माण भएका थिए। तीमध्ये १८० वटा पूर्ण आकारका ११ खेलाडीले खेल्न मिल्ने मैदान रहेको क्षेत्रीय खेलकुद ब्यूरोको तथ्याङ्क छ।
छोमोलाङ्मा अर्थात सगरमाथाको फेदीमा रहेको तिङ्ग्री काउन्टीमा पनि विनाशकारी भूकम्पपछि निर्माण गरिएको नयाँ मैदानमा बालबालिका फेरि फुटबल खेलिरहेका छन्। उनीहरूका लागि फुटबलमा फर्किनु जीवन पुनः सामान्य बनेको अनुभूति थियो। छाम्दोको ल्होरोङ काउन्टीमा आयोजना हुने ग्रामीण ‘सुपर लिग’ ले चीनका विभिन्न भागमा काम गर्न पुगेका स्थानीय श्रमिकलाई समेत फुटबल खेल्न गाउँ फर्काउने गरेको छ।
उता न्युयोर्क–न्युजर्सी स्टेडियममा विश्वकप विजेताले सुनौलो ट्रफी उठाउनेछन्। यता जाङ्बीका बालबालिका हरेक सप्ताहान्त कार्डबोर्डको पोडियममा उभिएर केरा, तरबुजा, बन्दाकोबी वा अङ्गुर पुरस्कारका रूपमा ग्रहण गर्छन्।
फुटबलको वास्तविक शक्ति सायद यही हो—यो विश्वविजेता खेलाडीको पनि हुन सक्छ र पशु गोठछेउको धुलाम्मे मैदानमा आफ्नो सम्पूर्ण शक्ति लगाएर दौडिरहेका बालबालिकाको पनि।





