भित्री मङ्गोलियामा मरुभूमिकरण नियन्त्रणसँगै जीविकोपार्जनको दिगो नमुना

ड्रागन मिडिया समाचार कक्ष
बेइजिङबाट १८० किलोमिटर उत्तरमा रहेको हुनशानदाके बालुवायुक्त भूभागमा तीव्र हावा चलिरहन्छ। दुई दशकअघि यही हावाले उत्तरी चीनभरि धुलोको आँधी फैलाउँथ्यो। आज त्यसैले हरियो घाँसेमैदानमा लहर सिर्जना गर्छ। हावा उस्तै छ, तर भूभाग फेरिएको छ।
संयुक्त राष्ट्रसंघीय मरुभूमिकरणविरुद्धको महासन्धि (यूएनसीसीडी) को सचिवालय तथा भारत, पेरु, केन्या र चाडका सम्बन्धित संस्थाका प्रतिनिधिले हालै चीनको भित्री मङ्गोलिया स्वायत्त प्रदेशस्थित उक्त क्षेत्रको भ्रमण गरेका छन्। उनीहरूले स्थानीय विलोका हाँगाबाट बनाइने अवरोध र मिश्रित बीउ रोपाइँलाई संयोजन गरिएको मरुभूमिकरण नियन्त्रणको सिर्जनात्मक विधि अध्ययन गरे।
यो प्रविधि स्थानीय हावापानी, माटो र विशिष्ट जैविक पारिस्थितिक प्रणालीमा आधारित छ। स्थानीय जातको विलो झाडी Salix gordejevii का हाँगा प्रयोग गरी बालुवा रोक्ने जाली बनाइन्छ, जसले बालुवाको बहावलाई प्रभावकारी रूपमा सुस्त बनाउँछ। वर्षायाममा जालीभित्र छरिएका स्थानीय घाँसका बीउ उम्रिएर फैलिन्छन्।
झाडी र घाँस मिलेर तहगत वनस्पति समुदाय निर्माण गर्छन्, जसले बालुवायुक्त जमिनलाई स्थिर बनाउनुका साथै वनस्पति पुनर्जीवित गर्न मद्दत गर्छ।
अधिकारीहरूले यो विधिलाई कम खर्चिलो र दिगो बताएका छन्। झाडीलाई निश्चित अवधिमा काटेर पशु आहारका रूपमा प्रयोग गर्न सकिन्छ। पाँच वर्षसम्म चरन निषेध गरेपछि पुनर्स्थापित घाँसेमैदानलाई नियन्त्रित रूपमा उपयोग गर्न सकिन्छ।
तर वनस्पति रोप्नु मात्र यस प्रयासको सम्पूर्ण पक्ष होइन। संयुक्त राष्ट्रसंघका विज्ञ र विदेशी प्रतिनिधिको मुख्य जिज्ञासा त्यसपछिको व्यवस्थापनबारे थियो।
परियोजनामा कति खर्च लाग्छ? पशुपालकहरू कसरी सहभागी हुन्छन्? पुनर्स्थापित जमिनको संरक्षण कसले गर्छ? वर्षा कम हुने कठोर समयमा र स्थानीय समुदायले पशुपालन जारी राख्दा कार्यक्रम कसरी दिगो रहन्छ?
यी सबै प्रश्नको केन्द्रमा एउटै विषय थियो—चरन क्षेत्रको पुनर्स्थापनालाई दिगो बनाउँदै स्थानीय समुदायको जीविकोपार्जन कसरी सुनिश्चित गर्ने?
पशुपालक हसिबातेरको पारिवारिक फार्ममा गाईपालन, पशु आहार उत्पादन र घाँसेमैदान संरक्षणलाई एकीकृत प्रणालीमा जोडिएको छ। पशुको संख्या नबढाई स्वास्थ्य सुधार र उत्पादन वृद्धि गर्दा आम्दानीसमेत बढेको छ।
स्थानीय रूपमा उत्पादित पशु आहारले प्राकृतिक चरनमाथिको दबाब कम गरेको छ। यसबाट पर्यावरणीय संरक्षण र आर्थिक लाभलाई एकअर्कासँग जोड्ने दिगो चक्र निर्माण भएको छ।
माओदेङ नमुना फार्ममा यही अवधारणालाई अझ ठूलो स्तरमा कार्यान्वयन गरिएको छ। त्यहाँ चरन निषेध, पुनः बीउ छर्ने, आवश्यक स्थानमा मल प्रयोग गर्ने, जरा काट्ने र पालैपालो घाँस काट्ने विधि अपनाइएको छ।
यी उपायले क्षतिग्रस्त चरन क्षेत्रको पारिस्थितिक प्रणाली पुनर्स्थापित गर्नुका साथै उत्पादकत्व पनि बढाएका छन्।
फार्मले पशु आहार उत्पादन र भण्डारणको व्यवस्थित प्रणालीसमेत स्थापना गरेको छ। यसले खडेरी, हिमआँधी र अन्य चरम मौसमी घटनाका समयमा पशुपालकलाई आवश्यक सुरक्षा प्रदान गर्छ।
चाडजस्ता पशुपालक समुदायमा आधारित देशबाट आएका प्रतिनिधिका लागि यो चुनौती अपरिचित थिएन। पशुधन उनीहरूको खाद्य सुरक्षा, आम्दानी र सांस्कृतिक पहिचानसँग जोडिएको हुन्छ। तर जमिन क्षयीकरण हुँदा त्यसमाथि प्रत्यक्ष निर्भर समुदाय नै सबैभन्दा पहिले प्रभावित हुन्छन्।
चाडको आदिवासी महिला तथा जनजाति संघकी अध्यक्ष हिन्डोउ इब्राहिमले भित्री मङ्गोलियाको अनुभव आफ्नो देशसहित साहेल क्षेत्रका लागि विशेष सान्दर्भिक रहेको बताइन्।
“भित्री मङ्गोलियामा हामीले देखेको अभ्यासले प्रकृति पुनर्स्थापना र जीविकोपार्जन सुधार प्रतिस्पर्धी लक्ष्य होइनन् भन्ने शक्तिशाली सन्देश दिएको छ,” उनले भनिन्, “यी दुवै विषय गहिरो रूपमा अन्तरसम्बन्धित छन्।”
उनका अनुसार के पुनर्स्थापित गरिन्छ भन्ने मात्र होइन, पुनर्स्थापनामा कसको सहभागिता हुन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ।
“स्थानीय समुदायलाई केन्द्रमा राख्दा पुनर्स्थापना सफल हुन्छ भन्ने सबैभन्दा महत्त्वपूर्ण पाठ हो,” इब्राहिमले भनिन्, “परम्परागत ज्ञानलाई विज्ञानसँग जोडेर, प्रकृतिमा आधारित समाधानमा लगानी गरेर र दिगो आम्दानीका श्रोत सिर्जना गर्दा पुनर्स्थापना पर्यावरणीय रूपमा प्रभावकारी र आर्थिक रूपमा व्यावहारिक दुवै हुन्छ।”
भित्री मङ्गोलियाको उपप्रादेशिक प्रशासनिक एकाइ सिलिङ्गोल लीगमा जमिन संरक्षण र जीविकोपार्जनबीचको सम्बन्ध विभिन्न स्वरूपमा विकास भएको छ।
पशुपालक र स्थानीय व्यवसायीले चरन क्षेत्रका श्रोतमा आधारित फराकिलो अर्थतन्त्र निर्माण गरिरहेका छन्। घोडीको दूध प्रशोधन गरी उच्च मूल्यका उत्पादन बनाइन्छ। घोडामा आधारित पर्यटनले घोडचढी र पशुपालक संस्कृतिसँग जोडिएका होमस्टे अनुभव प्रदान गर्छ।
त्यस्तै, दुग्ध प्रशोधन औद्योगिक पार्कले आसपासका परिवारबाट कच्चा दूध संकलन गरी साना उत्पादकलाई व्यापक बजारसँग जोडेको छ।
यूएनसीसीडीका सद्भावना दूत रिकी केजका लागि कार्यक्रमको सबैभन्दा प्रभावकारी पक्ष सरकारी नीति र व्यक्तिगत जिम्मेवारीबीचको संयोजन थियो।
“भित्री मङ्गोलियामा नीति, कानुन र सरकारी गतिविधिमार्फत माथिबाट तलतर्फ काम गर्ने प्रणाली देखिन्छ,” उनले भने, “त्यससँगै स्थानीय जनताको सहभागितामा तलबाट माथितर्फ जाने अभ्यास पनि उत्तिकै प्रभावकारी छ।”
उनले भेटेका पशुपालकहरूले पशुलाई आहार उपलब्ध गराउने विषय मात्र नभई भावी पुस्ताका लागि घाँसेमैदान जोगाउने जिम्मेवारीबारे पनि कुरा गरेको बताए।
“पशुधन र चरन क्षेत्रको संरक्षण सँगसँगै अघि बढ्न सक्छ,” केजले भने, “भित्री मङ्गोलियाका जनताको अभ्यासले यसलाई स्पष्ट रूपमा देखाएको छ।”
पारिस्थितिक र सामाजिक–सांस्कृतिक अवस्था फरक हुने भएकाले एउटै पुनर्स्थापना नमुना सबै देशमा हुबहु लागू गर्न सम्भव हुँदैन। तर एउटा व्यापक सिद्धान्त भने धेरै स्थानमा प्रभावकारी हुन सक्छ—पुनर्स्थापना स्थानीय अवस्थाअनुकूल, स्थानीय समुदायको सहभागितामा र उनीहरूको जीविकोपार्जनसँग जोडिएमा क्षतिग्रस्त जमिन पुनर्जीवित हुने सम्भावना बढ्छ।
फरक–फरक भूभागबाट आएका प्रतिनिधिले हुनशानदाकेमा साझा समाधानको आधार भेटेका छन्।





