२६ भाद्र २०८३, शुक्रबार

कूटनीतिक र संवैधानिक पदावलीमा सावधानी अपनाउन पत्रकारलाई पुष्पराज प्रधानको सुझाव

ड्रागन मिडिया सम्वाददाता

वरिष्ठ पत्रकार तथा पिपुल्स रिभ्युका सम्पादक पुष्पराज प्रधानले समाचार लेख्दा “कार्यवाहक राजदूत” र “कार्यवाहक प्रधानमन्त्री” जस्ता पदावलीको प्रयोगमा पत्रकारले विशेष सावधानी अपनाउनुपर्ने बताएका छन्।

प्रधानले आफ्नो फेसबुकमा पोस्ट गरेको विचारमा सामान्य रूपमा सहज देखिने यस्ता शब्दले सम्बन्धित व्यक्तिको वास्तविक कूटनीतिक वा संवैधानिक हैसियतबारे भ्रम सिर्जना गर्न सक्ने उल्लेख गरेका छन्।

उनका अनुसार राजदूत अनुपस्थित हुँदा दूतावासको नेतृत्व गर्ने कूटनीतिज्ञका लागि अन्तर्राष्ट्रिय कूटनीतिक प्रचलनमा “Chargé d’Affaires ad interim” वा संक्षेपमा “Chargé d’Affaires a.i.” भन्ने पदावली प्रयोग गरिन्छ। यस्तो जिम्मेवारी सम्हाल्ने व्यक्तिलाई “acting ambassador” अर्थात् “कार्यवाहक राजदूत” भन्नु औपचारिक कूटनीतिक पदावलीसँग मेल नखाने उनको तर्क छ।

प्रधानले राजदूत नियुक्त व्यक्तिले सम्बन्धित देशको राष्ट्रप्रमुखसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि औपचारिक रूपमा राजदूतको हैसियत प्राप्त गर्ने उल्लेख गरेका छन्। तर Chargé d’Affaires a.i. ले राजदूतसरह ओहोदाको प्रमाणपत्र प्रस्तुत नगर्ने र राजदूतको अनुपस्थितिमा दूतावासको दैनिक जिम्मेवारी सम्हाल्ने उनको भनाइ छ।

उनले “कार्यवाहक प्रधानमन्त्री” भन्ने शब्द प्रयोग गर्दा पनि संविधान र कानुनी व्यवस्थालाई आधार बनाउनुपर्ने बताएका छन्। प्रधानमन्त्री केही समय अनुपस्थित भएको मात्र कारण कुनै व्यक्ति स्वतः “कार्यवाहक प्रधानमन्त्री” नबन्ने र सम्बन्धित देशको संविधान, कानुन वा औपचारिक अधिकार प्रत्यायोजनअनुसार उपयुक्त पदावली प्रयोग गर्नुपर्ने उनको धारणा छ।

प्रधानका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा कुनै वरिष्ठ मन्त्रीलाई प्रधानमन्त्रीका निश्चित जिम्मेवारी निर्वाह गर्न तोक्न सकिए पनि त्यसलाई प्रधानमन्त्रीको संवैधानिक पद ग्रहण गरेको अर्थमा बुझ्न हुँदैन।

उनले पत्रकारितामा पदावली सामान्य भाषिक छनोट मात्र नभई कूटनीतिक हैसियत, संवैधानिक अधिकार र राज्यको औपचारिक संरचनासँग जोडिएको विषय भएको उल्लेख गर्दै आधिकारिक पद र जिम्मेवारी पुष्टि गरेर मात्र समाचारमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button