२६ भाद्र २०८३, शुक्रबार

फ्रान्सले सन् २०२६ को आर्थिक वृद्धिदर अनुमान ०.५ प्रतिशतमा झार्‍यो

ड्रागन मिडिया समाचार कक्ष

फ्रान्स सरकारले सन् २०२६ का लागि आर्थिक वृद्धिदरको अनुमान ०.७ प्रतिशतबाट घटाएर ०.५ प्रतिशतमा झारेको छ।

फ्रान्सका अर्थ तथा वित्तमन्त्री रोलान लेस्क्युरले शुक्रबार सरकारको संशोधित समष्टिगत आर्थिक परिदृश्य सार्वजनिक गर्दै नयाँ अनुमान घोषणा गरेका हुन्। सरकारले सन् २०२७ मा अर्थतन्त्र १ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ।

सरकारले सन् २०२६ मा मुद्रास्फीति २.१ प्रतिशत र सन् २०२७ मा १.८ प्रतिशत रहने अनुमान गरेको छ।

यो वर्ष फ्रान्स सरकारले सन् २०२६ को आर्थिक वृद्धिदर अनुमान तेस्रोपटक घटाएको हो। अप्रिलमा १ प्रतिशतबाट ०.९ प्रतिशतमा झारिएको अनुमान जुलाईमा पुनः ०.७ प्रतिशतमा घटाइएको थियो। अहिले त्यसलाई थप घटाएर ०.५ प्रतिशत बनाइएको छ।

लेस्क्युरका अनुसार यस वर्षको आर्थिक वृद्धि अनुमान लगभग आधा घटिसकेको छ। कमजोर आर्थिक परिदृश्यका कारण सन् २०२६ मा बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य अब सम्भव नदेखिएको उनले बताएका छन्।

उनले सन् २०२६ मा फ्रान्सको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतभन्दा माथि जाने स्पष्ट गरेका छन्।

फ्रान्सको सरकारी अनुमान राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानको पछिल्लो अनुमानभन्दा केही बढी छ। उक्त संस्थाले बिहीबार सार्वजनिक गरेको आर्थिक परिदृश्यमा सन् २०२६ को वृद्धिदर अनुमान ०.७ प्रतिशतबाट घटाएर ०.४ प्रतिशतमा झारेको थियो।

संस्थानका अनुसार छिमेकी देशको तुलनामा फ्रान्सको अर्थतन्त्र कमजोर गतिमा अघि बढिरहेको छ। स्थानीय निर्वाचन चक्रसँग सम्बन्धित सार्वजनिक निर्माण गतिविधिमा आएको तीव्र गिरावट, गर्मीको प्रभाव, कमजोर श्रम बजार तथा कम प्रभावकारी वित्तीय प्रोत्साहन यसका मुख्य कारण हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button