११ कार्तिक २०८३, मंगलवार

पार्टीबाट टाढिएका मतदातासँग संवाद गर्न मंसिरमा अभियान चलाउने गगन थापाको प्रस्ताव

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न आगामी मंसिरमा देशव्यापी एकमहिने संवाद अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका छन्।

मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनले वर्षौँदेखि कांग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मत नदिएका मतदातासँग संवाद गर्नुपर्ने बताए। उनीहरूलाई दोष दिनुभन्दा घरमै पुगेर गुनासा सुन्न र मत नदिनुको कारण बुझ्न पार्टीका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे।

१५औँ महाधिवेशनपछि कांग्रेस नयाँ सोच र संकल्पसहित अघि बढेको उल्लेख गर्दै थापाले विगतमा पार्टीबाट टाढिएका मतदाताका गुनासा सम्बोधन गर्न सकिने विश्वास व्यक्त गरे। विगतका कामको चर्चा मात्र नगरी वर्तमानका समस्या समाधान गर्ने प्रतिबद्धतासहित जनतामाझ जानुपर्ने उनको भनाइ थियो।

उनले पार्टीभित्र नयाँ र पुराना पुस्ताबीच समन्वय आवश्यक रहेको बताए। नयाँ पुस्ताको सोच र ज्ञानलाई पुरानो पुस्ताको अनुभवसँग जोडेर अघि बढ्नुपर्नेमा उनले जोड दिए। पार्टीका सबै संगठनात्मक संरचनामा चार पुस्ताको उपयुक्त प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने पनि उनको भनाइ थियो।

आगामी स्थानीय तह निर्वाचनमा नयाँ र अनुभवी नेता–कार्यकर्तालाई समेट्न, महिलालाई पर्याप्त जिम्मेवारी दिन तथा सबै जातजाति, भाषाभाषी र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने थापाले बताए। स्थानीय तहका उम्मेदवार छनोटमा तल्लो तहका पार्टी सदस्यलाई निर्णायक भूमिका दिनुपर्ने उनले उल्लेख गरे।

थापाले मंसिर महिनाभरि देशव्यापी संवाद अभियान चलाएर मतदाताको गुनासो सुन्न र उनीहरूको विश्वास पुनः स्थापित गर्न प्रस्ताव गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button