११ कार्तिक २०८३, मंगलवार

बालबालिकाको सुरक्षा गर्न द्वन्द्व अन्त्य गर्नुपर्ने चीनको आह्वान

ड्रागन मिडिया समाचार कक्ष

संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु छुङले बालबालिकाको सुरक्षाको प्रत्यक्ष र प्रभावकारी उपाय द्वन्द्व तथा हिंसा अन्त्य गर्नु भएको बताएका छन्। उनले शान्ति प्रवर्द्धनका लागि सबै पक्षले थप प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सोमबारको बैठकमा बोल्दै फुले द्वन्द्वरत सबै पक्षलाई राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्त पालना गर्न, शत्रुता रोक्न र अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका दायित्व पूरा गर्न आग्रह गरे। बालबालिका र विद्यालयजस्ता नागरिक तथा गैरसैनिक संरचनामाथि आक्रमण नगर्न पनि उनले आह्वान गरे।

मतभेदलाई संवाद र परामर्शबाट समाधान गर्दै द्वन्द्वग्रस्त क्षेत्रका राजनीतिक समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्ने फुको भनाइ थियो। प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउन सहज पहुँच सुनिश्चित गरी बालबालिकालाई आवश्यक सहयोग र मानसिक स्वास्थ्यसम्बन्धी सेवा समयमै उपलब्ध गराउनुपर्ने उनले बताए।

अधिकृत प्यालेस्टिनी भूभाग, हाइटी र अन्य क्षेत्रमा बालबालिका द्वन्द्व तथा हिंसाको अग्रपङ्क्तिमा परेको उल्लेख गर्दै फुले उनीहरूमाथि भएका गम्भीर उल्लङ्घनका घटनामा जवाफदेहिता सुनिश्चित गर्न सुरक्षा परिषद्ले आवश्यक कदम चाल्नुपर्ने बताए। उनले बालबालिका तथा सशस्त्र द्वन्द्वसम्बन्धी राष्ट्रसंघीय विशेष प्रतिनिधि भेनेसा फ्रेजरलाई आफ्नो कार्यादेश पूरा गर्न चीनको समर्थन रहेको र अनुगमन तथा प्रतिवेदन प्रणाली बलियो बनाउनुपर्ने बताए।

द्वन्द्वका मूल कारण समाधान गर्न विकास आवश्यक रहेको उल्लेख गर्दै उनले खाद्यान्न, शिक्षा, स्वास्थ्य सेवा र रोजगारीजस्ता आधारभूत आवश्यकतामा सम्बन्धित देशका सरकारलाई सहयोग गर्नुपर्ने बताए। द्वन्द्व प्रभावित देशका बालबालिकाको वृद्धि र विकासका लागि सुरक्षित वातावरण बनाउन सके उनीहरू युद्ध र हिंसाको चक्रबाट मुक्त हुन सक्ने उनको भनाइ थियो।

चीनले सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकाका लागि अफ्रिकी सङ्घको पहिलो विशेष दूतमा जैनाबा जाग्ने नियुक्त भएकोमा स्वागत गरेको छ। बालबालिकाको संरक्षण क्षमता बलियो बनाउन राष्ट्रसंघ र अफ्रिकी सङ्घबीच सहकार्य बढाउनुपर्ने फुले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button