आजदेखि नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन, सी चिनफिङसहित विश्व नेताहरू सहभागी हुँदै

ड्रागन मिडिया समाचार कक्ष
१८औँ ब्रिक्स शिखर सम्मेलन आज शनिबार भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ। ब्रिक्स स्थापनाको २०औँ वर्ष प्रवेशको सन्दर्भमा आयोजना हुन लागेको सम्मेलनमा ११ सदस्य राष्ट्र र १० साझेदार देशका नेताहरू सहभागी हुँदैछन्।
सम्मेलनअघि नै नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। सम्मेलनस्थल भारत मण्डपम आसपास ब्रिक्ससम्बन्धी प्रचार सामग्री राखिएको छ भने सुरक्षा गस्ती बढाइएको छ। सम्मेलनस्थल आसपासका होटलहरू लगभग भरिएका छन्।
यस वर्षको सम्मेलन “Building for Resilience, Innovation, Cooperation and Sustainability” अर्थात् लचकता, नवप्रवर्तन, सहकार्य र दिगोपनाका लागि निर्माण भन्ने विषयवस्तुमा केन्द्रित छ। सम्मेलनमा ऊर्जा तथा खाद्य सुरक्षा, स्थानीय मुद्रामा भुक्तानी, प्रविधि, आपूर्ति श्रृंखला, व्यापारिक सहकार्य तथा बहुपक्षीय संस्थामा सुधारलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ सेप्टेम्बर १२ र १३ मा हुने सम्मेलनमा सहभागी हुँदैछन्। चीनको परराष्ट्र मन्त्रालयका अनुसार सीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, ब्रिक्स संयन्त्रको विकास र व्यावहारिक सहकार्यलाई थप गहिरो बनाउने विषयमा अन्य नेतासँग विस्तृत विचारविमर्श गर्नेछन्।
चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ नीङले ब्रिक्स उदीयमान बजार तथा विकासशील देशबीच एकता र सहकार्यको महत्वपूर्ण मञ्च भएको बताएकी छन्। उनका अनुसार चीनले ब्रिक्स सहकार्यलाई उच्च महत्व दिँदै सक्रिय सहभागिता जनाउँदै आएको छ।
माओले राष्ट्रपति सीले सम्मेलनमा चीनका महत्वपूर्ण प्रस्ताव र पहल प्रस्तुत गर्दै वृहत्तर ब्रिक्स सहकार्यलाई उच्च गुणस्तरको विकासतर्फ लैजाने दिशाबारे धारणा राख्ने बताइन्। चीन सबै ब्रिक्स देशसँग मिलेर सहकार्यलाई स्थिर, दीर्घकालीन र परिणाममुखी बनाउन तयार रहेको उनले स्पष्ट गरिन्।
सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता गराउने तयारी पनि भइरहेको छ। भेट भएमा यो लगातार तेस्रो वर्ष दुई नेताबीचको प्रत्यक्ष संवाद हुनेछ। यसअघि उनीहरू कजान र थ्यानचिनमा भेटवार्ता गरिसकेका छन्।
चीनले भारतसँग सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट अघि बढाउनुपर्ने बताउँदै संवाद विस्तार, सहकार्य वृद्धि र मतभेदको उचित व्यवस्थापनमा जोड दिएको छ। चिनियाँ विश्लेषकहरूका अनुसार सीको भारत भ्रमणले चीन–भारत सम्बन्धमा पछिल्लो समय देखिएको सुधारलाई थप गति दिन सक्नेछ।
चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सअन्तर्गत ब्रिक्स तथा जी–२० अनुसन्धान केन्द्रका निर्देशक स्यु फेइबियाओले उच्चस्तरीय सम्पर्कको निरन्तरताले दुई देशबीचको सम्बन्ध सुधारतर्फ अघि बढेको संकेत गर्ने बताएका छन्। उनका अनुसार यसले द्विपक्षीय सम्बन्धलाई स्थिर र दीर्घकालीन दिशामा अघि बढाउन थप प्रेरणा दिन सक्छ।
भारतस्थित अब्जर्भर रिसर्च फाउन्डेसनकी चीन अध्येता अन्तरा घोषाल सिंहले पनि सीको सहभागितालाई चीन–भारत सम्बन्धका दृष्टिले महत्वपूर्ण घटनाक्रमका रूपमा व्याख्या गरेकी छन्। उनका अनुसार चीन र भारतले महत्वपूर्ण अन्तर्राष्ट्रिय विषयमा साझा आवाज उठाउन सके त्यसको प्रभाव ग्लोबल साउथमात्र होइन, विश्व शान्ति र समृद्धिमा समेत पर्न सक्छ।
सम्मेलनमा मध्यपूर्वको संकट, ऊर्जा सुरक्षा र क्षेत्रीय स्थायित्व पनि प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ। चीनले साझा, व्यापक, सहकार्यमा आधारित र दिगो सुरक्षा अवधारणालाई समर्थन गर्दै विवाद तथा संकटको राजनीतिक समाधान संवादमार्फत खोजिनुपर्ने धारणा दोहोर्याएको छ।
ब्रिक्स देशहरूले अहिले विश्व जनसंख्याको झण्डै आधा हिस्सा, विश्व अर्थतन्त्रको करिब ३० प्रतिशत र विश्व व्यापारको करिब पाँचौँ हिस्सा प्रतिनिधित्व गर्ने बताइएको छ। यही बढ्दो आर्थिक तथा जनसाङ्ख्यिक प्रभावका कारण ब्रिक्स विश्व शासन, विकास वित्त, व्यापार र बहुपक्षीय सुधारको महत्वपूर्ण मञ्चका रूपमा उभिएको छ।
विश्लेषकहरूले यस सम्मेलनका तीन प्रमुख पक्षमा ध्यान केन्द्रित हुने बताएका छन्। पहिलो, सहभागी नेताहरू र उनीहरूबीच हुने द्विपक्षीय तथा बहुपक्षीय संवाद। दोस्रो, सम्मेलनबाट आउने ठोस निर्णय, सहकार्य कार्यक्रम र नयाँ पहल। तेस्रो, विस्तार हुँदै गएको वृहत्तर ब्रिक्स सहकार्यको भावी दिशा।
आर्थिक तथा व्यापारिक सहकार्य सम्मेलनको मुख्य एजेण्डामध्ये एक हुनेछ। स्वास्थ्य, जलवायु, वातावरण, औद्योगिक सहकार्य र कृषि क्षेत्रमा पनि नयाँ कार्यक्रम तथा सहमति अघि बढ्न सक्ने अपेक्षा गरिएको छ।
चीनले ब्रिक्स विस्तार र “ब्रिक्स प्लस” अवधारणालाई लामो समयदेखि समर्थन गर्दै आएको छ। सन् २०१७ मा स्यामनमा आयोजित नवौँ ब्रिक्स शिखर सम्मेलनमा राष्ट्रपति सी चिनफिङले थप उदीयमान अर्थतन्त्र र विकासशील देशलाई सहकार्यमा जोड्ने “ब्रिक्स प्लस” अवधारणा प्रस्ताव गरेका थिए।
सन् २०२४ मा रुसको कजानमा आयोजित १६औँ ब्रिक्स शिखर सम्मेलन विस्तारपछिको पहिलो प्रत्यक्ष नेतृत्वस्तरीय सम्मेलन बनेको थियो। पछिल्ला वर्षमा धेरै देशले ब्रिक्स सदस्यता, साझेदार हैसियत वा ब्रिक्ससँग गहिरो सहकार्यप्रति रुचि देखाउँदै आएका छन्।
चिनियाँ तथा अन्य विश्लेषकका अनुसार चीनको आर्थिक आकार, उत्पादन क्षमता, विकास अनुभव र दीर्घकालीन योजनाले ब्रिक्स संरचनामा महत्वपूर्ण भूमिका खेलिरहेको छ। उनीहरूले चीनलाई ब्रिक्स सहकार्यको प्रमुख सहभागी मात्र होइन, समाधान र विकास अवधारणा प्रस्तुत गर्ने महत्वपूर्ण शक्ति पनि मानेका छन्।
इरानका विश्लेषक फोआद इजादीले पनि ब्रिक्समा चीनको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार ब्रिक्सको सुदृढीकरणले ग्लोबल साउथका देशलाई विश्व शासनमा आफ्नो प्रतिनिधित्व र विकल्प विस्तार गर्न मद्दत गर्न सक्छ।
आजदेखि सुरु हुने सम्मेलनले ब्रिक्सको संस्थागत विकास, सदस्य राष्ट्रबीचको आर्थिक सहकार्य, चीन–भारत सम्बन्ध, ऊर्जा तथा खाद्य सुरक्षा, स्थानीय मुद्रामा व्यापार र विश्व शासन सुधारका विषयमा नयाँ संकेत दिने अपेक्षा गरिएको छ। नयाँ दिल्ली अब दुई दिनसम्म विश्वका प्रमुख उदीयमान शक्ति र ग्लोबल साउथका राजनीतिक तथा आर्थिक बहसको केन्द्र बन्नेछ।





