२७ भाद्र २०८३, शनिबार

‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ नारासहित विश्व प्राथमिक उपचार दिवस मनाइँदै

ड्रागन मिडिया सम्वाददाता

विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ। आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गएको सन्दर्भमा यात्राका क्रममा उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिम, दुर्घटना र आकस्मिक अवस्थामा प्राथमिक उपचारको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन लागिएको हो।

नेपालमा विपद्, बाढीपहिरो, अन्य आकस्मिक घटना तथा रोजगारी र अवसरको खोजीमा ठूलो संख्यामा मानिस बसाइँसराइ गर्ने गरेका छन्। नेपाल रेडक्रस सोसाइटीले बसाइँसराइको यात्रा सहज नहुने र त्यसक्रममा विभिन्न शारीरिक, मानसिक तथा सामाजिक जोखिम सामना गर्नुपर्ने जनाएको छ।

रेडक्रसका अनुसार अनिश्चित जीवन अवस्था, जीविकोपार्जनका अवसरको अभाव, आधारभूत स्वास्थ्य सेवामा सीमित पहुँच, जोखिमपूर्ण मार्ग, भाषा तथा संस्कृतिको अपरिचय, भौगोलिक अवस्थाबारे जानकारीको कमी र आवश्यक प्रशिक्षणको अभावले बसाइँसराइ गर्ने व्यक्तिमा एक्लोपन, चिडचिडाहट, थकान, मानसिक दबाब तथा स्वास्थ्य समस्याहरू देखिन सक्छन्।

बसाइँसराइका क्रममा डिहाइड्रेसन, हाइपोथर्मिया, कुपोषण, अत्यधिक थकान, आघातजन्य चोटपटक, डुब्ने जोखिम, असुरक्षित कामको अवस्था तथा मनोवैज्ञानिक पीडाजस्ता समस्या देखिन सक्ने रेडक्रसले जनाएको छ। कतिपय अवस्थामा शारीरिक तथा मनोवैज्ञानिक दुर्व्यवहार र हिंसासमेत सामना गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरिएको छ।

यस्ता परिस्थितिमा प्राथमिक उपचारसम्बन्धी आधारभूत ज्ञान र सीपले घाइते तथा बिरामीलाई तत्काल सहायता पुर्‍याउन, स्वास्थ्य अवस्था थप बिग्रन नदिन र जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने रेडक्रसको भनाइ छ।

महामारी, दुर्घटना, विपद्, द्वन्द्व तथा अन्य आकस्मिक अवस्थामा प्राथमिक उपचार सेवाको आवश्यकता निरन्तर बढिरहेको पनि सोसाइटीले जनाएको छ। हालैको भोटेकोशी बाढीका क्रममा नेपाल रेडक्रसका प्रशिक्षित स्वयंसेवकले प्राथमिक उपचार, मनोवैज्ञानिक प्राथमिक उपचार तथा अन्य मानवीय प्रतिकार्यमा पुर्‍याएको सेवाले यसको आवश्यकता थप पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल रेडक्रसले नेपाल सरकारका सुरक्षा निकाय, संयुक्त राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, कूटनीतिक नियोग तथा औद्योगिक र व्यावसायिक क्षेत्रसँग समन्वय गर्दै प्राथमिक उपचारसम्बन्धी प्रशिक्षण तथा सेवामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

दिवसका अवसरमा सोसाइटीले ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नारालाई आत्मसात् गर्दै प्राथमिक उपचारको ज्ञान, सीप र अभ्यासलाई व्यापक बनाउन तथा ‘हरेक घरमा एक प्राथमिक उपचारकर्ता’ अभियानलाई प्रभावकारी बनाउन सबैलाई आह्वान गरेको छ।

नेपाल रेडक्रसले जीवन रक्षा अभियानमा योगदान पुर्‍याउँदै आएका प्राथमिक उपचार प्रशिक्षक तथा स्वयंसेवकप्रति सम्मान व्यक्त गर्दै उनीहरूको सेवाप्रति धन्यवादसमेत जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button