सशस्त्र प्रहरी र एसएसबीबीच १०औँ द्विपक्षीय बैठक सुरु

ड्रागन मिडिया सम्वाददाता
सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको तीनदिने द्विपक्षीय बैठक बुधबार काठमाडौँमा सुरु भएको छ। बैठक कात्तिक १३ गतेसम्म चल्नेछ।
१०औँ समन्वय बैठकमा दुवै देशका सीमा सुरक्षा निकायसहित गृह तथा परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायका प्रतिनिधि सहभागी छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन्। भारतीय टोलीको नेतृत्व एसएसबीका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्।
बैठकमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि, मानव तस्करी, लागूऔषध तथा हातहतियारको ओसारपसार नियन्त्रण र शान्ति–सुव्यवस्था कायम गर्ने विषयमा छलफल हुनेछ। दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण तथा मर्मतसम्भार, र सीमापार प्रभाव पार्न सक्ने महामारी तथा विपद्को जोखिम घटाउने उपाय पनि एजेन्डामा छन्।
दुवै पक्षले नियमित समन्वय बैठक र तत्काल सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने, सीमावर्ती समुदायसँग सम्बन्ध सुदृढ गर्ने तथा मैत्रीपूर्ण खेलकुदलगायत गतिविधिमार्फत आपसी सहकार्य बढाउने विषयमा समेत छलफल गर्नेछन्।
सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार सीमा क्षेत्रमा देखिन सक्ने समस्या र चुनौतीको समयमै पहिचान तथा समाधानका लागि नियमित सम्पर्क, सूचनाको आदानप्रदान र संस्थागत समन्वयलाई निरन्तरता दिने विषय पनि बैठकमा उठाइनेछ।





