विनिमेय मालवाहक कागजातसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमा चीनसहित २६ देशको हस्ताक्षर

ड्रागन मिडिया समाचार कक्ष
चीन, घानासहित २६ देशले विनिमेय मालवाहक कागजातसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमा सोमबार पहिलो हस्ताक्षर गरेका छन्। घानाको राजधानी अक्रामा आयोजित समारोहमा चिनियाँ वाणिज्य उपमन्त्री जियाङ छङह्वाले चीन सरकारका तर्फबाट हस्ताक्षर गरे।
जियाङका अनुसार महासन्धिले सीमापार ढुवानीका कागजातमा आधारित वित्तीय कारोबारका लागि अन्तर्राष्ट्रिय कानुनी ढाँचा तयार गरेको छ। यसले अन्तर्राष्ट्रिय व्यापारमा संलग्न कम्पनीको वित्तीय दबाब र सीमापार स्थल व्यापारको कारोबार लागत घटाउँदै विश्व व्यापारको विकासमा सघाउने उनले बताए।
चीनले हस्ताक्षरकर्ता देशसँग आन्तरिक अनुमोदन प्रक्रिया छिट्टै पूरा गर्न सहकार्य गर्ने जियाङले बताए। महासन्धिको लाभ धेरै देशसम्म पुर्याउन थप राष्ट्रलाई सहभागी हुन पनि उनले आग्रह गरे।
संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय व्यापार कानुन आयोग (युएनसिट्राल) की सचिव अन्ना जुबिन-ब्रेले महासन्धिले व्यापारसम्बन्धी अनिश्चितता घटाउने, व्यापार वित्त सहज बनाउने, डिजिटल व्यापारलाई सहयोग गर्ने र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलाको कार्यक्षमता बढाउने बताइन्। महासन्धिको प्रस्ताव आयोगमा अघि बढाएकोमा उनले चीन सरकारलाई धन्यवाद दिइन्।
हस्ताक्षर समारोहमा ६० भन्दा बढी देश तथा क्षेत्रका करिब ४०० प्रतिनिधि सहभागी थिए। चीनको पहलमा तयार भएको महासन्धि सन् २०२५ डिसेम्बरमा संयुक्त राष्ट्रसंघ महासभाको ८०औँ अधिवेशनबाट पारित भएको थियो।





