१२ कार्तिक २०८३, बुधबार

आयोगले ६ हजार शिक्षकको बढुवा पुनरावलोकन गर्दै

ड्रागन मिडिया संवाददाता

शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकका उजुरीमाथि पुनरावलोकन गरी नतिजा प्रकाशनलाई तीव्रता दिएको छ।

आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट भएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा योग्यताक्रम सूची प्रकाशन भइरहेको छ। ‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित) को परिच्छेद १५ अनुसार प्राप्त कागजात र प्रमाण अध्ययन गरी सम्बन्धित जिल्ला तथा तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

प्रदेशका शिक्षा विकास निर्देशनालयबाट भएका कार्यसम्पादन मूल्याङ्कनमाथि परेका उजुरी अध्ययन तथा छानबिन गरेर आयोगले पुनरावलोकनको नतिजा प्रकाशन गर्दै आएको थियो। तर आयोगका पदाधिकारी रिक्त रहेका कारण पछिल्लो छ महिनादेखि यो काम रोकिएको थियो।

आयोगले यसै कात्तिकमा माध्यमिक द्वितीय तहका इलाम, सुनसरी, झापा र सोलुखुम्बुका शिक्षकको पुनरावलोकन नतिजा प्रकाशन गरेको छ। यसअघि असोज २९ गते प्राथमिक द्वितीय तहका लमजुङ, बाग्लुङ, गोरखा, नवलपरासी बर्दघाट सुस्ता पूर्व र कास्कीका शिक्षकको नतिजा प्रकाशित गरिएको थियो।

नेपाल सरकारले भदौ २५ गते आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्सालसहित नयाँ पदाधिकारी नियुक्त गरेको थियो। ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएपछि वैशाख १८ गते आयोगका पदाधिकारी पदमुक्त भएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button