कोरला नाकाबाट १५ दिनमै रु १ अर्ब ७८ करोड राजस्व, रसुवागढी–केरुङ बन्द भएपछि आयात तीव्र

ड्रागन मिडिया सम्वाददाता
नेपाल–चीन उत्तरी सीमाक्षेत्रको कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले १५ दिनमै रु १ अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द हुँदा चीनबाट हुने मालवस्तु आयात मुस्ताङको कोरला नाकातर्फ तीव्र रूपमा मोडिएको हो।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि कोरला हुँदै चिनियाँ मालवस्तु भित्रिने क्रम उल्लेख्य रूपमा बढेको छ। शुक्रबार मात्रै भन्सार कार्यालयले रु २७ करोड ११ लाख राजस्व सङ्कलन गरेको छ। भदौ २२ यता कोरला नाकाबाट दैनिक औसत करिब रु ३० करोड राजस्व उठ्न थालेको उनले बताए।
शुक्रबार एकै दिन ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरी गन्तव्यतर्फ पठाइएको छ। भदौ १० गते रसुवागढी नाका बन्द भएदेखि भदौ २५ गतेसम्म कोरला हुँदै नेपाल भित्रिएका ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारीसाधनको जाँचपास गरिएको भन्सार कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरला नाका हुँदै नेपाल भित्रिएका कन्टेनर तथा विद्युतीय सवारीसाधनबाट मुस्ताङ भन्सारले कुल रु २ अर्ब ३१ करोड ४४ लाख राजस्व सङ्कलन गरिसकेको छ। भदौ ९ गतेसम्म भने १३३ कन्टेनर र १६३ विद्युतीय सवारीसाधन मात्र नेपाल भित्रिएका थिए। त्यसपछिको दुई सातामा आयातको चाप तीव्र रूपमा बढेको तथ्याङ्कले देखाएको छ।
कोरला नाका यसअघि मुख्यतः उपल्लो मुस्ताङका स्थानीय बासिन्दाका लागि वर्षभर सञ्चालनमा रहने सीमाक्षेत्र थियो। तर गत वर्ष तातोपानी र रसुवागढी नाका बाढीपहिरो तथा नदी कटानका कारण अवरुद्ध भएपछि सरकारले भदौ ३१ गतेदेखि यसलाई वैकल्पिक निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो।
त्यसपछि कोरला नाकाको व्यापारिक महत्व निरन्तर बढ्दै गएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा कोरला नाका हुँदै भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सार कार्यालयले रु ६ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो। उक्त अवधिमा आयाततर्फ रु १४ अर्ब ४१ करोड र निर्याततर्फ रु २० करोड ५० लाख बराबरको मालवस्तु कारोबार भएको थियो।
गत वर्ष कोरला नाका हुँदै ३ हजार २२३ विद्युतीय सवारीसाधन र १ हजार ८७३ कन्टेनरको भन्सार जाँचपास गरिएको थियो। पछिल्लो बाढीपछि मुख्य उत्तरी व्यापारिक मार्ग अवरुद्ध हुँदा कोरला नाका नेपाल–चीन व्यापारको महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा स्थापित हुँदै गएको छ।
अल्प अवधिमै राजस्व र आयात दुवैमा भएको तीव्र वृद्धिले कोरला नाकाको रणनीतिक तथा आर्थिक महत्व थप उजागर गरेको छ। सडक, भन्सार पूर्वाधार, गोदाम, पार्किङ, सञ्चार तथा अन्य आधारभूत संरचना थप व्यवस्थित गर्न सकिए यो नाका विपद्का समयमा वैकल्पिक मार्ग मात्र नभई दीर्घकालीन रूपमा नेपाल–चीन व्यापार विस्तारको महत्वपूर्ण प्रवेशद्वार बन्न सक्ने देखिएको छ।





