चीन–आसियान स्वतन्त्र व्यापार क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन चिनियाँ उपप्रधानमन्त्री तिङका चार प्रस्ताव

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ उपप्रधानमन्त्री तिङ सुएस्याङले चीन–आसियान स्वतन्त्र व्यापार क्षेत्रलाई थप उच्चस्तरमा विकास गर्न क्षेत्रीय खुलापन विस्तार, व्यापार तथा लगानी स्तरोन्नति, डिजिटल र हरित अर्थतन्त्रजस्ता उदीयमान क्षेत्रमा सहकार्य तथा भौतिक र संस्थागत सम्पर्क सञ्जाल सुदृढीकरणसम्बन्धी चार प्रमुख प्रस्ताव अघि सारेका छन्।
दक्षिण चीनको क्वाङसी च्वाङ स्वायत्त क्षेत्रको राजधानी नाननिङमा आयोजित २३औँ चीन–आसियान एक्स्पो र चीन–आसियान व्यापार तथा लगानी शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै तिङले चीन–आसियान स्वतन्त्र व्यापार क्षेत्र अर्थात सीएएफटीए ३.० क्षेत्रीय आर्थिक एकीकरणको नयाँ आधार बन्ने बताए। यस वर्षको एक्स्पो र सम्मेलनको मुख्य विषय “सीएएफटीए ३.० का अवसर, अझ राम्रो जीवन” रहेको छ।
तिङका अनुसार चीनले चीन–आसियान स्वतन्त्र व्यापार क्षेत्र निर्माणलाई उच्च महत्व दिँदै आएको छ। सन् २००२ मा चीन र आसियानले व्यापक आर्थिक सहकार्यसम्बन्धी रूपरेखा सम्झौता गरेपछि स्वतन्त्र व्यापार क्षेत्र निर्माण औपचारिक रूपमा शुरु भएको थियो। सन् २०१० मा सीएएफटीए १.० पूरा भई ठूलो स्तरमा शून्य भन्सार पहुँच शुरु भयो। सन् २०१९ मा सीएएफटीए २.० स्तरोन्नति प्रोटोकल पूर्ण रूपमा कार्यान्वयनमा आएपछि सेवा क्षेत्रको खुलापन र लगानीका लागि बजार पहुँच थप विस्तार भयो।
चीन र आसियानले सन् २०२२ मा सीएएफटीए ३.० का लागि औपचारिक वार्ता शुरु गरेका थिए। तिङका अनुसार यसको स्तरोन्नति प्रोटोकलमा औपचारिक हस्ताक्षर भइसकेको छ र अहिले दुवै पक्ष आआफ्नो कानुनी प्रक्रिया पूरा गर्दै यसलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउने तयारीमा छन्। नयाँ व्यवस्थाले क्षेत्रीय व्यापक आर्थिक साझेदारी अर्थात आरसीईपीसँग थप समन्वय गर्दै क्षेत्रीय आर्थिक विकासलाई दीर्घकालीन गति दिने चीनको अपेक्षा छ।
चीन लगातार १७ वर्षदेखि आसियानको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको र आसियान लगातार छ वर्षदेखि चीनको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको तिङले बताए। सन् २०२५ मा दुई पक्षबीचको व्यापार पहिलोपटक एक ट्रिलियन अमेरिकी डलर नाघेको थियो, जुन सन् २००२ को तुलनामा १८ गुणा बढी हो। दुईतर्फी सञ्चित लगानीसमेत ५१० अर्ब डलर नाघिसकेको छ।
तिङले चीन–लाओस रेलमार्गले भूपरिवेष्टित लाओसलाई स्थलमार्गबाट क्षेत्रीय सञ्जालसँग जोडिएको मुलुकमा रूपान्तरण गर्न सहयोग गरेको तथा इन्डोनेसियाको जकार्ता–बान्डुङ उच्चगतिको रेलमार्गले आर्थिक विकासका लागि नयाँ मार्ग सिर्जना गरेको उल्लेख गरे। चीन–मलेसिया र चीन–इन्डोनेसियाबीचका “दुई देश, जुम्ल्याहा पार्क” परियोजना तथा चीन–लाओस सीमापार आर्थिक सहकार्य क्षेत्रले औद्योगिक र आपूर्ति श्रृंखला एकीकरणलाई थप गहिरो बनाएको उनको भनाइ थियो। चीन र आसियानबीच अहिले दैनिक औसत एक लाखभन्दा बढी मानिसको आवतजावत भइरहेको पनि उनले बताए।
पहिलो प्रस्तावका रूपमा तिङले क्षेत्रीय खुलापनलाई व्यापक रूपमा स्तरोन्नति गर्नुपर्ने बताए। सीएएफटीए ३.० अन्तर्गत उच्चस्तरीय व्यापार तथा आर्थिक नियम, प्राविधिक मापदण्ड, अनुरूपता मूल्याङ्कन, प्रतिस्पर्धा, उपभोक्ता संरक्षण तथा सूक्ष्म, साना र मझौला उद्यमसम्बन्धी संस्थागत व्यवस्था सुदृढ गर्दै खुला, समावेशी र नियममा आधारित एकीकृत क्षेत्रीय बजार निर्माण गर्नुपर्ने उनको भनाइ थियो। चीनले विशेष गरी सेवा क्षेत्रमा बजार पहुँच थप विस्तार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
दोस्रो प्रस्ताव व्यापार र लगानी सहकार्यको स्तरोन्नतिमा केन्द्रित छ। चीन र आसियान सदस्य राष्ट्रमा विश्वको करिब एक चौथाइ जनसंख्या बसोबास गर्ने र उनीहरूको संयुक्त आर्थिक उत्पादन २३ ट्रिलियन डलर रहेको उल्लेख गर्दै तिङले दुवै पक्षका स्रोत र औद्योगिक संरचना एकअर्काका पूरक रहेको बताए। चीनले आसियानसँग दुईतर्फी लगानी बढाउने, आसियान मुलुकबाट थप गुणस्तरीय वस्तु आयात गर्ने तथा क्षेत्रीय औद्योगिक र आपूर्ति श्रृंखलालाई स्थिर र सहज बनाउने योजना अघि सारेको छ।
तेस्रो प्रस्ताव डिजिटल तथा हरित अर्थतन्त्रलगायत उदीयमान क्षेत्रमा सहकार्य विस्तारसँग सम्बन्धित छ। तिङले कृत्रिम बुद्धिमत्ता, प्रविधि अनुसन्धान तथा विकास र व्यावहारिक प्रयोगमा सहकार्य बढाउँदै क्षेत्रीय डिजिटल अर्थतन्त्रको विकासलाई तीव्र बनाउनुपर्ने बताए। वातावरणमैत्री वस्तु तथा सेवाको व्यापारमा रहेका अवरोध हटाउने, हरित विकास र व्यापारलाई परस्पर सहयोगी बनाउने तथा आसियानसँग उन्नत प्रविधि, उत्पादन र अनुभव आदानप्रदान गर्ने चीनको तयारी रहेको उनले बताए।
चौथो प्रस्तावका रूपमा तिङले सम्पर्क सञ्जाललाई थप सुविधाजनक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। रेलमार्ग, राजमार्ग, बन्दरगाह र विमानस्थललगायत पूर्वाधार निर्माणसँगै भौतिक तथा संस्थागत सम्पर्कलाई समन्वित रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। चीन–आसियान वस्तु व्यापारको ६० प्रतिशतभन्दा बढी हिस्सा समुद्री मार्गबाट हुने भएकाले समुद्री तथा बहुविध यातायात सञ्जालको थप विकास आवश्यक रहेको उनले बताए।
तिङले एक दिनअघि सञ्चालनमा आएको पिङलु नहरलाई नयाँ क्षेत्रीय सम्पर्क संरचनाको महत्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गरे। नाननिङ क्षेत्रलाई पेइपु खाडीसँग जोड्ने नहरले दक्षिणपश्चिम चीनको आन्तरिक भूभाग र आसियानबीचको यातायात दूरी ५६० किलोमिटर छोट्याउँदै ढुवानी लागत उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ। चीनले आसियानसँग मिलेर बहुविध ढुवानी प्रणाली विकास गर्ने, सीमापार ढुवानीका अवरोध हटाउने र नयाँ अन्तर्राष्ट्रिय स्थल–समुन्द्र व्यापारिक करिडोरलाई उच्चस्तरमा विकास गर्ने जनाएको छ।
तिङले चीन–आसियान स्वतन्त्र व्यापार क्षेत्रले क्षेत्रीय आर्थिक एकीकरण, खुलापन, सम्पर्क सञ्जाल र जनस्तरीय सम्बन्धलाई सुदृढ बनाएको उल्लेख गर्दै बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा पनि यस क्षेत्रले शान्ति, स्थिरता, समृद्धि र विकास कायम राखेको बताए। उनले चीन आसियान मुलुकसँग मिलेर अझ निकट साझा भविष्यसहितको चीन–आसियान समुदाय निर्माण गर्न तथा क्षेत्रीय र व्यापक विश्वको समृद्धि र स्थिरतामा योगदान बढाउन तयार रहेको बताए।





