मधेस प्रदेशमा सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको छ : प्रचण्ड

ड्रागन मिडिया सम्वाददाता
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशमा सरकार गठनका विषयमा दलहरूबीच विभिन्न विकल्प खुला राखेर सघन छलफल भइरहेको बताएका छन्।
राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएका दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरू प्रदेश सरकारको स्थायित्वका लागि संवादमा रहेको बताए। यसबारे चाँडै निष्कर्षमा पुग्ने उनको भनाइ थियो।
दाहालले लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध बलियो बनाउने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार अभियान पार्टीको आन्तरिक सङ्गठनलाई व्यवस्थित गर्ने काममा केन्द्रित छ। त्यसैका आधारमा अन्य दलसँगको सम्बन्ध पनि प्रगाढ बनाउँदै लगिनेछ।
पार्टीले अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रदेशभरिका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला अध्यक्ष र संयोजक सहभागी हुने प्रदेश इञ्चार्ज राजु खड्काले जानकारी दिए। पार्टीका सहसंयोजक माधवकुमार नेपाल पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ।





