माइक्रोबस डिभाइडरमा ठोक्किँदा ११ जना घाइते

ड्रागन मिडिया सम्वाददाता
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीमा आइतबार साँझ माइक्रोबस दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्।
मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ८४१९ नम्बरको माइक्रोबस चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ३७ वर्षीय चालक भद्रबहादुर शाह, कास्कीको पोखरा महानगरपालिका–७ का ६३ वर्षीया राधादेवी बराल र ७३ वर्षीय लीलाधर बराल घाइते भएका छन्।
त्यस्तै, पर्साको सखुवा प्रसौनीकी ३५ वर्षीया सपना चौधरी, पोखरा महानगरपालिका–१३ की ७३ वर्षीया चुनकुमारी गुरुङ र ४९ वर्षीया राधा गुरुङ, ३७ वर्षीय राजकुमार श्रेष्ठ, बागलुङको बडीगाड गाउँपालिका–७ की २५ वर्षीया विपिना विक तथा महोत्तरीको बलवा नगरपालिका–७ का ३६ वर्षीय रुपेश मिश्र घाइते भएका छन्।
तनहुँको व्यास नगरपालिका–१ का २३ वर्षीय विकास ठकुरी र बन्दीपुर गाउँपालिका–२ की २८ वर्षीया सृजना अछामी पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन्।





