१७ कार्तिक २०८३, सोमबार

बागलुङ प्रहरी कार्यालयमा चार नयाँ भवन, प्रहरीको भाडा बसाइ अन्त्य

ड्रागन मिडिया सम्वाददाता

जिल्ला प्रहरी कार्यालय बागलुङ परिसरमा चार नयाँ भवन निर्माण भएपछि प्रहरी कर्मचारीले कार्यालयभित्रै आवास सुविधा पाएका छन्। यसअघि पर्याप्त भवन नहुँदा केही प्रहरी भाडाका कोठामा बस्दै आएका थिए। नयाँ संरचनाले ब्यारेक, हिरासत कक्ष र कार्यालय सञ्चालनका लागि आवश्यक सुविधा थपेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार पुरानो साँघुरो भवनबाट प्रशासनिक काम, हिरासत व्यवस्थापन र हातहतियार भण्डारणसमेत गर्नुपर्ने अवस्था थियो। नयाँ भवन निर्माणसँगै प्रहरी ब्यारेक, हिरासत कक्ष, वरिष्ठ प्रहरी अधिकृतको आवास र कार्यालय प्रमुखको निवास छुट्टाछुट्टै उपलब्ध भएका छन्।

सङ्घीय सरकारको प्रहरी पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत ९ करोड ७१ लाख ९३ हजार ५०० रुपैयाँ लागतमा नयाँ संरचना निर्माण गरिएको हो। परियोजनामा ब्यारेक, हिरासत कक्ष, वरिष्ठ प्रहरी अधिकृतको आवास, कार्यालय प्रमुखको निवास, मोटर ग्यारेज, पर्खाल र प्रवेशद्वार समेटिएका छन्। पुरानो कार्यालय भवनको मर्मतसम्भार र सौन्दर्यकरणसमेत गरिएको छ।

नवनिर्मित ब्यारेकको भुइँतलामा भोजनकक्ष, भण्डारकक्ष र प्रहरी कर्मचारीका लागि आवासको व्यवस्था छ। महिला प्रहरीका लागि छुट्टै ब्यारेक बनाइएको छ। दुई तलाको उक्त भवन ८ हजार ६७१ वर्गफिट क्षेत्रफलमा फैलिएको छ र यसमा १४० जना प्रहरी बस्न सक्छन्।

हिरासत भवनमा महिला र पुरुषका लागि अलग कक्ष बनाइएको छ। नाबालिगका लागि दुई छुट्टै कक्षसहित सुरक्षा, भेटघाट र अन्तर्वार्ता कक्ष तथा हातहतियार भण्डारणको व्यवस्था गरिएको छ। प्रहरी अधिकृत र कार्यालय प्रमुखका लागि दुई आवासीय भवन निर्माण गरिएका छन्। यसअघि कार्यालय प्रमुखको निवास पुरानो अञ्चल प्रहरी कार्यालयबाट सञ्चालन हुँदै आएको थियो।

पर्याप्त कार्यकक्ष र आवास सुविधाले प्रहरीको दैनिक काम, सुरक्षा व्यवस्थापन र सेवा प्रवाह सहज हुने तथा कर्मचारीको मनोबल बढ्ने अपेक्षा गरिएको छ।

जिल्ला सदरमुकामको प्रहरी कार्यालयमा सुविधा थपिए पनि जिल्लाका अन्य प्रहरी चौकीको भौतिक अवस्था कमजोर छ। जिल्लाका १५ प्रहरी चौकी भाडाका घरबाट सञ्चालन भइरहेका छन्। प्रहरी उपरीक्षक प्रसाईंका अनुसार आठ चौकीको आफ्नै जग्गा छैन भने जग्गा भएका सात चौकीमा भवन निर्माण हुन सकेको छैन।

जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गास्थित प्रहरी चौकी भवन अभावमा चार वर्षदेखि घाटको सत्तलबाट सञ्चालन हुँदै आएको छ। उक्त चौकीका लागि भने हालै नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button