२ आश्विन २०८३, शुक्रबार

भोटेकोशी बाढीका बेपत्ता फर्कने आशा क्षीण, कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गर्दै परिवार

ड्रागन मिडिया सम्वाददाता

भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तको तीन साताभन्दा लामो समयसम्म कुनै खबर नआएपछि केही परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। सम्भावित स्थानमा निरन्तर खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि पोखरा र लमजुङका केही परिवारले फर्कने आशा क्षीण हुँदै गएपछि यस्तो कठिन निर्णय गरेका हुन्।

पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार पोखराको तुलसीघाटमा कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिएको छ। काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन्। त्यसको भोलिपल्ट आएको विनाशकारी बाढीपछि उनी सम्पर्कविहीन भएकी थिइन्।

छोरीको खोजीमा उनका बुबा माधव बास्तोला दुई पटकसम्म रसुवा र नुवाकोट पुगेका थिए। बाढीले पुर्‍याएको व्यापक क्षति देखेपछि परिवार चिन्तित भए पनि सृष्टि कतै सुरक्षित अवस्थामा रहेको हुन सक्ने आशा कायम थियो। छिमेकी वसन्तराज गौतमका अनुसार सृष्टिले भदौ १० गते बिहान परिवारसँग कुराकानी गरेकी थिइन्, तर त्यसपछि कुनै सम्पर्क हुन सकेन। घटना भएको २२ दिनसम्म पनि कुनै सूचना प्राप्त नभएपछि परिवार अन्तिम संस्कार गर्ने निर्णयमा पुगेको हो।

देशको दक्ष प्राविधिक जनशक्ति बन्ने लक्ष्यसहित अध्ययन गरिरहेकी सृष्टि इन्टर्नसिपका लागि आयोजनास्थल पुगेको केही घण्टामै विपदमा परेकी थिइन्। पोखरा महानगरपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले उनको बेपत्ताको घटनाले परिवार, आफन्त र स्थानीय समुदायलाई गहिरो शोकमा पारेको बताएका छन्।

भोटेकोशी बाढीमै बेपत्ता पोखरा महानगरपालिका–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारी क्षेत्रीको परिवारले पनि यसअघि कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिसकेको छ। टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत अधिकारी बाढी आएको दिनदेखि सम्पर्कविहीन छन्। लामो खोजीपछि पनि उनको अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक परम्पराअनुसार संस्कार सम्पन्न गरेको छिमेकी घनश्याम पाण्डेले बताएका छन्।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पोखराका अझै १२ जनाको अवस्था अज्ञात छ। परिवारहरू आफन्तको खोजीमा सम्भावित क्षेत्रसम्म पुगे पनि ठोस जानकारी प्राप्त हुन नसकेपछि कतिपयले कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गर्न थालेका छन्।

यसैगरी लमजुङको बेँसीसहर नगरपालिका–११ का ४५ वर्षीय झपटबहादुर घर्ती र उनकी ४३ वर्षीया श्रीमती राधिका घर्तीको पनि कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिएको छ। रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनामा कार्यरत दम्पती भदौ १० गतेको बाढीपछि सम्पर्कविहीन भएका थिए। सम्भावित सबै स्थानमा खोजी गर्दा पनि कुनै जानकारी नपाएपछि परिवारले काजकिरिया शुरु गरेको उनीहरूका भतिज विशाल घर्तीले बताएका छन्।

सोही बाढीमा बेपत्ता मस्र्याङ्दी गाउँपालिका–३ खुदीकी रमिला भण्डारीको अवस्था पनि अझै पत्ता लागेको छैन। माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनामा सबइन्जिनियरका रूपमा कार्यरत भण्डारीको परिवारले पनि परम्पराअनुसार काजकिरिया सम्पन्न गरिसकेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार भोटेकोशी बाढीमा लमजुङका १० जना बेपत्ता छन्। बेपत्तामध्ये तीन जनासँग सम्बन्धित पहिचान पुष्टि गर्न डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको उनले जानकारी दिएका छन्।

बाढी गएको तीन साताभन्दा बढी समय बित्दै जाँदा बेपत्ताको खोजी केवल उद्धारको विषयमा सीमित नरही परिवारका लागि गहिरो मानवीय पीडाको विषय बनेको छ। शव वा आधिकारिक पहिचान प्राप्त नभए पनि लामो प्रतीक्षापछि धार्मिक संस्कार गर्न बाध्य भएका परिवारको अवस्था भोटेकोशी विपदले छाडेको मानवीय क्षतिको अर्को पीडादायी पक्ष बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button