२ आश्विन २०८३, शुक्रबार

पुल बगाएको २२ दिनसम्म विकल्प अनिश्चित, उत्तरी धादिङमा खाद्य संकटको जोखिम बढ्दै

ड्रागन मिडिया सम्वाददाता

रसुवा बाढीका कारण धादिङ–मलेखु सडकअन्तर्गत फुर्केखोलामा त्रिशूली नदीमाथिको पुल बगाएको २२ दिन बितिसक्दा पनि त्यसको तत्काल विकल्प सुनिश्चित हुन सकेको छैन। सदरमुकाम धादिङबेँसीलाई मुख्य राजमार्गसँग सहज रूपमा जोड्ने पुल अवरुद्ध हुँदा जिल्लाका आठ स्थानीय तहमा खाद्यान्न, खाना पकाउने ग्यास तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानी कठिन बनेको छ। लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ढुवानी खर्च र बजार मूल्यसमेत बढ्न थालेको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार प्राविधिक टोलीले उपलब्ध बेलिब्रिजबाट उक्त स्थानमा तत्काल पुल जडान गर्न सम्भव नहुने जानकारी दिएको छ। जिल्ला विपद समितिले जिल्लाको पछिल्लो अवस्थाबारे संघीय सरकारलाई जानकारी गराइसकेको छ। सडक सम्पर्क कठिन भएपछि जनजीवन प्रभावित भएको र वैकल्पिक सडकमार्फत अत्यावश्यक सामग्री ढुवानी गर्ने व्यवस्था मिलाइएको उनले बताएकी छन्।

हाल गोरखा–आरुघाट–सल्यानटार हुँदै धादिङबेँसी, गल्छी–मासटार–परेवाटार हुँदै धादिङबेँसी र गल्छी हुँदै सुनौलाबजार पुग्ने तीन वैकल्पिक सडक प्रयोगमा छन्। तर यी सडक कच्ची र साँघुरा भएकाले सवारीसाधनलाई निर्धारित समय मिलाएर सञ्चालन गर्नुपर्ने अवस्था छ। यसले यात्राको समय मात्र बढाएको छैन, ढुवानी खर्च बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा समेत पर्न थालेको छ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीका अनुसार पहिले एकै दिनमा काठमाडौँ वा चितवन पुगेर फर्कन सकिने यात्रामा अहिले दुई दिनसम्म लाग्न थालेको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर करिब एक सय रुपैयाँसम्म बढेको र तेल, चामललगायत अत्यावश्यक खाद्य सामग्रीको मूल्यसमेत बढेको उनले बताएका छन्। अहिले समस्या मुख्यतः सदरमुकाम आसपास स्पष्ट देखिए पनि सडक सम्पर्क लामो समय सहज नभए उत्तरी धादिङ हुँदै रसुवाका हिमाली क्षेत्रसम्म खाद्य आपूर्तिमा गम्भीर दबाब पर्न सक्ने चिन्ता बढेको छ।

रुबीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले पुल नहुँदा आफ्नो गाउँपालिका मात्र नभई रसुवाको आमाछोदिङमो गाउँपालिकासम्म खाद्यान्न आपूर्तिमा समस्या पर्न सक्ने बताएका छन्। उनका अनुसार पहिले मुख्य राजमार्गसम्म पुग्न करिब पाँच घण्टा लाग्ने यात्रामा अहिले १० घण्टाभन्दा बढी समय लाग्न थालेको छ। स्थानीय तहले यस विषयमा जिल्ला प्रशासनसँग कुरा गरे पनि पुल कहिलेसम्म निर्माण हुन्छ भन्ने स्पष्ट समयसीमा अझै प्राप्त नभएको उनको भनाइ छ।

अस्थायी समाधानका रूपमा बेलिब्रिज राख्न नागरिकस्तरबाट ‘कनेक्ट धादिङ’ अभियानसमेत सञ्चालन गरिएको छ। तर सडक विभागका अनुसार बगेको पुलको लम्बाइ करिब एक सय मिटर छ भने सरकारसँग तत्काल उपलब्ध बेलिब्रिज करिब ५० मिटर लम्बाइको मात्र छ। यही प्राविधिक सीमाका कारण उपलब्ध संरचना प्रयोग गरेर तत्काल बेलिब्रिज जडान गर्ने विकल्प सम्भव नदेखिएको विभागले जनाएको छ।

सडक विभागले तत्कालका लागि करिब २३ किलोमिटर लामो परेवाटार–मासटार–धादिङबेँसी कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सुझाएको छ। स्थायी पक्की पुल निर्माणका लागि भने बजेट सुनिश्चित गरेर खरिद तथा निर्माण प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ। नियमित प्रक्रियामा सूचना प्रकाशनकै लागि एक महिनाको समय दिनुपर्ने भए पनि विपदको परिस्थितिलाई आधार बनाएर कम्तीमा एक साताको सूचना जारी गरी प्रक्रिया छोट्याउन सकिने विकल्प रहेको विभागको भनाइ छ।

अहिलेसम्म पुलको अवस्थासम्बन्धी तथ्याङ्क संकलन अन्तिम चरणमा पुगेको छ। तर निर्माणका लागि आवश्यक बजेट सुनिश्चित गर्ने र ठेक्का प्रक्रिया शुरु गर्ने काम अघि बढिसकेको छैन। यसकारण नयाँ पुल कहिलेसम्म निर्माण हुन्छ भन्ने निश्चित समयसीमा छैन। पुल निर्माणमा हुने थप ढिलाइ अब केवल यातायातको समस्यामा सीमित नरही खाद्य सुरक्षा, बजार मूल्य, स्वास्थ्य सेवा, शिक्षा र उत्तरी धादिङ तथा रसुवाका दुर्गम बस्तीको दैनिक जीवनसँग जोडिएको गम्भीर विषय बन्ने जोखिम देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button