परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

ड्रागन मिडिया सम्वाददाता
परराष्ट्रमन्त्री शिशिर खनाल र पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल सिकोरस्कीबीच अमेरिकाको न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा भएको भेटमा नेपाल र पोल्यान्डबीचको सम्बन्ध तथा सहकार्य विस्तारका विषयमा छलफल भएको हो।
परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार दुवै मन्त्रीले दुई देशबीच विकसित हुँदै गएको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका छन्। उनीहरूबीच आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि छलफल भएको छ।
भेटवार्तामा संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा नेपाल र पोल्यान्डबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयले प्राथमिकता पाएको सचिवालयले जनाएको छ।
महासभाका अवसरमा भएको यस भेटले नेपाल र पोल्यान्डलाई द्विपक्षीय सम्बन्धका साथै साझा चासोका अन्तर्राष्ट्रिय विषयमा संवाद अघि बढाउने अवसर प्रदान गरेको छ।





