७ आश्विन २०८३, बुधबार

आज प्रतिनिधिसभाको बैठक, फोहोरमैला व्यवस्थापनसहित विभिन्न विधेयक कार्यसूचीमा

ड्रागन मिडिया सम्वाददाता

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बुधबार बिहान ११ बजे सिंहदरबारमा बस्ने कार्यतालिका छ। बैठकमा प्रधानमन्त्रीको कार्यभारसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको जानकारी गराउने तथा विभिन्न विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा प्रतिनिधिसभालाई जानकारी गराउनेछन्। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गरेपछि प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यभारसम्बन्धी औपचारिक जानकारी सदनलाई गराउन लागिएको हो।

बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

त्यसैगरी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

आज विभिन्न पाँच संसदीय समितिका बैठकसमेत निर्धारण गरिएका छन्। सङ्घीय संसद् सचिवालयको प्रारम्भिक कार्यतालिकाअनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठक तय गरिएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button