७ आश्विन २०८३, बुधबार

मनसुनी र पश्चिमी वायुको प्रभावले चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

ड्रागन मिडिया सम्वाददाता

देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीको पश्चिम मध्य भाग आसपास विकसित न्यून चापीय प्रणाली आगामी दिनमा थप शक्तिशाली हुँदै पश्चिम उत्तरपश्चिमतर्फ सर्ने पूर्वानुमान गरेको छ।

बुधबार बिहान बागमती प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ। मधेश प्रदेश तथा पूर्वदेखि पश्चिमसम्मका विभिन्न तराई क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको पूर्वानुमान गरिएको छ।

दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति भने वर्षाको प्रभाव थप विस्तार हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

बुधबार राति कोशी प्रदेशका केही स्थानमा तथा बागमती प्रदेशका पहाडी र तराई भूभाग एवं गण्डकी र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षा हुन सक्नेछ। कोशी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी बाढी प्रभावित बस्ती, पहिरोको जोखिम रहेका भिराला भूभाग, नदीकिनार र गेग्रान थुप्रिएका क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न आवश्यक छ।

हालैको विनाशकारी बाढीले कमजोर बनाएका सडक, पुल र नदीकिनारका संरचनामा पुनः वर्षा हुँदा थप क्षति पुग्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवतजावत तथा पुनर्निर्माणका काम गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ। महाशाखाले सम्भावित बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयबाट हुने जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकाय तथा सर्वसाधारणलाई पूर्वतयारीमा रहन आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button