१४ आश्विन २०८३, बुधबार

म्याग्दीलाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

ड्रागन मिडिया सम्वाददाता

बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि जिल्ला विपद व्यवस्थापन समितिले म्याग्दीलाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको छ। मङ्गलबार बसेको समितिको बैठकले उद्धारसँगै पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताएका छन्।

असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछिको बाढीपहिरोमा म्याग्दीमा सात जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन्। सडक, विद्युत, सञ्चार, खानेपानी र सिँचाइका संरचनामा क्षति पुगेको छ। जिल्लाको सदरमुकाम बेनीलाई अन्य जिल्ला र ग्रामीण क्षेत्रसँग जोड्ने सडकहरू अवरुद्ध छन्।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार जिल्लाका छवटै स्थानीय तहमा क्षतिको विवरण सङ्कलन शुरु भएको छ। हालसम्म प्राप्त विवरणमा ४८ घर पूर्ण र दश घर आंशिक रूपमा क्षतिग्रस्त छन्। थप एक सय घर जोखिममा परेका छन्। स्थानीय जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको टोलीले निजी आवाससँगै कृषि, पशुधन र सार्वजनिक संरचनामा भएको क्षति पनि अभिलेख गरिरहेको छ।

पहिरोले बस्तीहरू घेरिएपछि अन्नपूर्ण गाउँपालिका–५ का पाउद्वार, गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङबाट एक सय नौ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उनीहरूलाई शिख र घारका अस्थायी शिविरमा राखिएको छ। उद्धार र राहतका लागि नेपाली सेनाका ७०, नेपाल प्रहरीका दुई सय ५१ र सशस्त्र प्रहरी बलका ६० सुरक्षाकर्मी परिचालित छन्।

सदरमुकामबाहिर विद्युत र सञ्चार सेवा अवरुद्ध भएकाले सबै ठाउँको क्षति यकिन भइसकेको छैन। बेनीमा खानेपानीको अभाव छ। जिल्ला विपद सङ्कटग्रस्त घोषणा गर्ने सिफारिसमा गृह मन्त्रालयको निर्णय आउन बाँकी छ; यसबीच प्रभावित परिवारलाई सुरक्षित आवास, खानेपानी र नियमित राहत उपलब्ध गराउनु तत्कालको आवश्यकता बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button