इञ्जिनियर पृष्ठभूमिका सांसदसँग प्रधानमन्त्रीको छलफल, नयाँ योजना ल्याउन आग्रह

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री वालेन्द्र शाहले इञ्जिनियरिङ पृष्ठभूमिका सांसदसँग बुधबार छलफल गर्दै औद्योगिकीकरण र देश विकासका लागि नयाँ योजना प्रस्तुत गर्न आग्रह गरेका छन्। संसदमा आउन लागेका विधेयकमा सांसदहरूको अनुभव र सुझाव उपयोगी हुने उनले बताएका छन्।
छलफलमा सहभागी एक सांसदलाई उद्धृत गर्दै रातोपाटीले जनाएअनुसार प्रधानमन्त्री शाहले सांसदबाट आउने सुझावको प्रकृति व्याख्या गर्ने क्रममा सामान्य कार्यक्रमबारे कुरा गर्ने, निर्देशन दिने र नयाँ विचार प्रस्तुत गर्ने प्रवृत्तिलाई तीन तहमा तुलना गरेका थिए। उनले इञ्जिनियर पृष्ठभूमिका सांसदले सिर्जनशील र कार्यान्वयनयोग्य प्रस्ताव ल्याउनुपर्ने बताएका थिए।
प्रधानमन्त्रीले यस आधारमा सांसदहरूको औपचारिक वर्गीकरण गरेका वा कसैलाई कुनै तहमा राखेका भन्ने विवरण सार्वजनिक भएको छैन। ती सांसदका अनुसार शाहले संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँग समन्वय गर्न सकिने पनि बताएका छन्।




