१४ आश्विन २०८३, बुधबार

नेपाल–चीन सडकमार्ग अवरुद्ध, चाडपर्वका सामान बोकेका कन्टेनर रोकिए

ड्रागन मिडिया सम्वाददाता

बाढी, पहिरो र सडक क्षतिका कारण नेपाल–चीनबीचका प्रमुख स्थलमार्गबाट मालवाहक सवारी सञ्चालन प्रभावित भएको छ। तातोपानी र रसुवागढी मार्ग अवरुद्ध भएपछि व्यवसायीले प्रयोग गर्दै आएको मुस्ताङको कोरला मार्गमा पनि असोज ११ गतेदेखि सडक अवरोध भएको छ। दसैँ, तिहार र जाडोयामका लागि ल्याइएका सामान बोकेका कन्टेनर बीच बाटोमै रोकिएका छन्।

व्यवसायीका अनुसार मार्ग अवरुद्ध हुँदा लत्ताकपडा, जुत्ता, विद्युतीय सामग्री र फलफूल बजारमा समयमै पुर्‍याउन कठिन भएको छ। थोक कपडा व्यवसायी राजु कार्कीले कोरला हुँदै सामान ल्याउँदा लामो दूरी, खराब सडक र बढेको ढुवानी खर्च बेहोर्नुपरेको बताए। उनले यसपटक कपडालगायत सामानको मूल्य २५ देखि ३० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेका छन्।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले चाडपर्व लक्षित आयात प्रभावित भएको बताए। नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले कन्टेनर रोकिँदा व्यवसायीको ब्याज र ढुवानी खर्च बढ्नुका साथै भन्सार राजस्वमा असर पर्ने बताए। उनले अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्।

भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार कोरला नाका स्वयं सञ्चालनयोग्य भए पनि त्यहाँ पुग्ने सडकका विभिन्न स्थानमा पहिरो र क्षति हुँदा सवारी आवागमन रोकिएको हो। सडक विभागले मर्मत र पहिरो पन्छाउने काम गरिरहेको छ। थप वर्षाले काम नरोके करिब छ दिनभित्र सडक खुल्न सक्ने जानकारी विभागबाट प्राप्त भएको भुसालले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button