चीनको राष्ट्रिय दिवसमा नेपाल–चीन पारस्परिक सहयोग समाजको शुभकामना

ड्रागन मिडिया सम्वाददाता
नेपाल–चीन पारस्परिक सहयोग समाजले जनवादी गणतन्त्र चीनको ७७औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति सी चिनफिङ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङका नाममा छुट्टाछुट्टै शुभकामना सन्देश नेपालस्थित चिनियाँ राजदूतावासमार्फत प्रेषित गरेको छ। सेप्टेम्बर ३० मा पठाइएका सन्देशमा चीनका जनता र नेतृत्वप्रति बधाई व्यक्त गरिएको छ। चीनले अक्टोबर १ मा राष्ट्रिय दिवस मनाउँदै छ।
सन्देशमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५औँ वर्ष र लामो मार्चको विजयको ९०औँ वार्षिकीको पनि स्मरण गरिएको छ। समाजका अध्यक्षले ती ऐतिहासिक यात्रामा योगदान गर्नेहरूप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय विकास, गरिबी निवारण, पूर्वाधार, विज्ञान र प्रविधिमा चीनले हासिल गरेको प्रगतिको प्रशंसा गरेका छन्।
नेपाल–चीन सम्बन्ध सार्वभौम समानता, पारस्परिक सम्मान र एकअर्काका मूल हितप्रतिको संवेदनशीलतामा आधारित रहेको सन्देशमा उल्लेख छ। अध्यक्षले एक चीन सिद्धान्तप्रतिको नेपालको प्रतिबद्धताको सम्मान गर्दै शिक्षा, संस्कृति, सम्पर्क र दिगो विकासमा जनस्तरको समझदारी तथा व्यावहारिक सहकार्य विस्तार गर्न समाज प्रतिबद्ध रहेको बताएका छन्। उनले थाइवानसम्बन्धी प्रश्न शान्तिपूर्ण रूपमा समाधान हुने विश्वास पनि व्यक्त गरेका छन्।
नेपालले हालै सामना गरेको विनाशकारी विपदका बेला चीनको सरकार र जनताबाट प्राप्त राहत तथा विशेषज्ञ सहयोगप्रति अध्यक्षले विशेष आभार व्यक्त गरेका छन्। कठिन समयमा प्राप्त सहयोगलाई दुई देशबीचको मित्रताको मानवीय अभिव्यक्ति भन्दै उनले राष्ट्रपति सीको सुस्वास्थ्य तथा चिनियाँ जनताको शान्ति, समृद्धि र निरन्तर प्रगतिका लागि शुभकामना दिएका छन्।





