भूमिगत लाइन सञ्चालनका लागि काठमाडौंका विभिन्न क्षेत्रमा पाँच घण्टा विद्युत कटौती

ड्रागन मिडिया सम्वाददाता
काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत वितरण प्रणाली सञ्चालनमा ल्याउन असोज १५ देखि २६ गतेसम्म फरक–फरक दिन विद्युत आपूर्ति बन्द गरिने भएको छ। कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका तोकिएका क्षेत्रमा बिहान दश बजेदेखि दिउँसो ३ बजेसम्म आपूर्ति कटौती गरी प्राविधिक काम गरिनेछ।
नेपाल विद्युत प्राधिकरणको कार्यतालिकाअनुसार भूमिगत लाइन सञ्चालनसँगै आगामी हिउँदको विद्युत माग व्यवस्थापनका लागि आवश्यक काम गरिनेछ। सबै क्षेत्रमा एकै दिन आपूर्ति बन्द हुने छैन। सम्बन्धित स्थानमा तोकिएको दिन पाँच घण्टाका लागि विद्युत कटौती हुनेछ।
कार्यतालिकाअनुसार असोज १५ गते सतुंगल बौथली, १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक, १७ गते मुलपानी र १८ गते गर्जुधारा क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ। असोज २० गते पनि मुलपानी क्षेत्रमा लाइन कटौती गरिनेछ।
त्यस्तै, असोज २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल धौलागिरी आवास र २६ गते धोबीखोला क्षेत्रमा विद्युत आपूर्ति बन्द गरी भूमिगत लाइनसम्बन्धी काम गरिनेछ। मौसम प्रतिकूल भए निर्धारित कटौती नगरिने जनाइएको छ।
प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउन चरणबद्ध काम अघि बढाइरहेको छ। पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत काम शुरु गरिएको थियो। त्यसपछि काठमाडौंका बाँकी शहरी क्षेत्र, ललितपुर र भक्तपुर तथा पोखरा र भरतपुरमा कार्यक्रम विस्तार गरिएको छ।
यस कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी र ४०० भोल्टका विद्युत लाइन भूमिगत गर्नुका साथै सञ्चारका लागि अप्टिकल फाइबर पनि बिछ्याइनेछ। भूमिगत प्रणालीले विद्युत आपूर्तिको विश्वसनीयता र सुरक्षा बढाउने, वितरण प्रणाली स्वचालित बनाउन सहयोग गर्ने तथा सडकमा देखिने तारको अव्यवस्था घटाएर शहरी सौन्दर्य सुधार्ने प्राधिकरणको अपेक्षा छ।





