संसदका दुवै सदन आज बस्दै, तीन वित्तीय विधेयक समितिमा पठाउने कार्यसूची

ड्रागन मिडिया सम्वाददाता
संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ बजेर १५ मिनेटमा बस्ने तय भएको छ। प्रतिनिधिसभामा तीन वित्तीय विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३, नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ र भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्ने कार्यसूची छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकमाथिको समितिको प्रतिवेदन, २०८३ प्रस्तुत गर्नेछन्।
राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। प्रधानमन्त्रीका तर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि सभासमक्ष पेस गरिनेछ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। आजै कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठकसमेत बस्ने तय भएको छ।





