कालीगण्डकीको बाढीले आनन्दबगरका आठ घरमा क्षति, बस्ती संरक्षणको माग

ड्रागन मिडिया सम्वाददाता
म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा कालीगण्डकीको बाढीले आठ घरमा क्षति पुर्याएपछि स्थानीयवासी सुरक्षित बास र जीविकोपार्जनको चिन्तामा परेका छन्। असोज ११ गते घरभित्र पसेको बाढीले खाद्यान्न र घरायसी सामान बगाउनुका साथै तरकारी खेती, खानेपानी संरचना र सडकमा समेत क्षति पुर्याएको छ।
बाढीको चार दिनपछि पनि स्थानीयवासी घरभित्रको हिलो पन्छाउने, बचेका सामान खोज्ने र घाममा सुकाउने काममा व्यस्त छन्। व्यावसायिक तरकारी खेती गर्दै आएका रुद्रबहादुर थापाका अनुसार उनका तीन भाइका सँगै रहेका तीन घरको आधा तलासम्म बाढी पसेको थियो। फेरि बाढी आउने डरले उनी राति आफन्तकहाँ बस्ने र बिहान घर फर्केर सरसफाइ गर्ने गरेका छन्।
नदी किनारदेखि करिब २० मिटर दूरीमा रहेको बस्तीकी ६० वर्षीया कमला जिसीले आफूले थाहा पाएयता यति ठूलो बाढी नदेखेको बताइन्। घरमा बस्न कठिन भएको र खाद्यान्नसमेत बगाएकाले उनको परिवारलाई गाँस र बास दुवैको समस्या परेको छ। सामान सफा गर्न सकिए पनि बस्ती छाड्नुपर्ने अवस्था आउन सक्ने चिन्ताले सताएको उनको भनाइ छ।
स्थानीय ८० वर्षीय कालुमान थापाले राति करिब १२ बजे बेनीका आफन्तबाट बाढीको जानकारी पाएपछि भागेर ज्यान जोगाएको बताए। बाढी तटबन्ध र सडक नाघेर घरभित्र पसेको थियो। अहिले पनि नदीको बहाव बढ्दा स्थानीयवासी त्रसित हुने र राति आफ्नै घरमा सुरक्षित भएर सुत्न नसक्ने अवस्था रहेको उनीहरू बताउँछन्।
तरकारी खेतीलाई आम्दानीको मुख्य आधार बनाएका परिवारलाई बाढीले घरसँगै खेतीमा भएको क्षतिले थप समस्यामा पारेको छ। बाढीले बस्तीको खेलमैदान पुरेको छ भने बेनीबाट आनन्दबगर जोड्ने सडक पहिरोले क्षतिग्रस्त भएको छ। खानेपानी संरचनामा क्षति पुगेपछि दैनिक जीवनसमेत प्रभावित भएको छ।
स्थानीय लालबहादुर थापाका अनुसार दुई वर्षअघि नदी किनारमा बनाइएको पक्की पर्खालले माथिल्लो बस्तीलाई बाढी र कटानबाट जोगाएको छ। प्रभावित क्षेत्रका बासिन्दाले पनि दीर्घकालीन तटबन्ध तथा संरक्षण संरचना निर्माणको माग गरेका छन्। स्थानीय सविना जिसीले बाढीको त्रास हटाएर आनन्दबगरलाई सुरक्षित र बस्नयोग्य बनाउनुपर्ने बताइन्।
वडाध्यक्ष टेकबहादुर थापाले पछिल्लो बाढीबाट वडाभित्र सबैभन्दा बढी क्षति आनन्दबगरमा भएको बताए। उनका अनुसार सिममा एउटा र अर्जममा दुई घरमा पनि क्षति पुगेको छ। प्रभावित परिवारलाई खाद्यान्नलगायत राहत उपलब्ध गराइएको र खानेपानी आपूर्ति सहज बनाउन नगरपालिकासँग पहल भइरहेको उनले जानकारी दिए।
वडाध्यक्ष थापाले दीर्घकालीन बस्ती संरक्षणका लागि तटबन्धलगायत संरचना निर्माणमा संघीय सरकारको सहयोग आवश्यक रहेको बताए। तत्काल राहत पाए पनि सुरक्षित आवास र खेती पुनःस्थापनाको प्रश्न बाँकी रहेकाले आनन्दबगरका परिवारमा आफ्नो थातथलो छाड्नुपर्ने चिन्ता बढेको छ।





