१५ आश्विन २०८३, बिहीबार

चीनको राष्ट्रिय पुनर्जागरणका लागि दृढ विश्वास र ठोस कदम चाल्न सीको आह्वान

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय पुनर्जागरणको लक्ष्य हासिल गर्न दृढ विश्वासका साथ अघि बढ्दै ठोस कदम चाल्न आह्वान गरेका छन्। जनवादी गणतन्त्र चीन स्थापनाको ७७औँ वार्षिकोत्सवका अवसरमा सेप्टेम्बर ३० मा बेइजिङस्थित जनवृहत सभाभवनमा आयोजित स्वागत समारोहमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले चिनियाँ राष्ट्रको महान पुनर्जागरण रोक्न नसकिने बताए। विश्वास कायम राखेर लक्ष्यमा केन्द्रित हुँदै चरणबद्ध रूपमा अघि बढे सफलता पार्टी, चिनियाँ जनता र जनवादी गणतन्त्र चीनको पक्षमा हुने उनको भनाइ थियो।

सिन्ह्वाका अनुसार सीले विगत ७७ वर्षमा पार्टीको नेतृत्वमा चीनले तीव्र आर्थिक वृद्धि र दीर्घकालीन सामाजिक स्थिरताका दुई उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। नयाँ चीनका उपलब्धिप्रति गौरव र चिनियाँ आधुनिकीकरणको उज्ज्वल भविष्यप्रति पूर्ण विश्वास रहेको उनले उल्लेख गरे।

यस वर्ष बढ्दो दबाबका बीच पनि चिनियाँ अर्थतन्त्रले प्रगति कायम राख्दै नवप्रवर्तनमा आधारित उच्च गुणस्तरीय विकास हासिल गरेको सीको भनाइ थियो। उनले अर्थतन्त्रको अनुकूलन क्षमता र जीवन्ततालाई कायम राख्दै जनजीविका संरक्षण तथा सुधारका लागि व्यावहारिक कदम चाल्न जोड दिए।

सीले वर्षका निर्धारित लक्ष्य र कार्यभार पूरा गरी सन् २०२६–२०३० को पन्ध्रौँ पञ्चवर्षीय योजनाको राम्रो शुरुवात सुनिश्चित गर्नुपर्ने बताए। नवप्रवर्तन, उच्च गुणस्तर र सुदृढ आर्थिक विकासलाई निरन्तर अघि बढाउनु आवश्यक रहेको उनको भनाइ थियो।

हङकङ र मकाउका विषयमा उनले ‘एक देश, दुई प्रणाली’ नीतिप्रति दृढ प्रतिबद्धता दोहोर्‍याए। हङकङका जनताले हङकङ र मकाउका जनताले मकाउको प्रशासन सञ्चालन गर्ने तथा दुवै क्षेत्रले उच्च स्वायत्तता उपभोग गर्ने व्यवस्थालाई कायम राख्दै राष्ट्रिय विकासमा थप समाहित हुन केन्द्रीय सरकारले सहयोग गर्ने उनले बताए।

थाइवान जलडमरूका दुई किनारबीच आदानप्रदान र सहकार्य विस्तार गर्न पनि सीले आह्वान गरे। उनले ‘थाइवान स्वतन्त्रता’ खोज्ने पृथकतावादी शक्तिको विरोध, बाह्य हस्तक्षेपको प्रतिरोध र दुई किनारबीचको सम्बन्धको शान्तिपूर्ण विकासमार्फत राष्ट्रिय पुनःएकीकरण अघि बढाउन जोड दिए।

विदेश नीतिका विषयमा सीले चीनले स्वतन्त्र शान्तिपूर्ण विदेश नीति कायम राख्ने बताए। चीनले प्रस्ताव गरेका चार प्रमुख विश्वव्यापी पहल कार्यान्वयन गर्दै मानव जातिको साझा भविष्यको समुदाय निर्माणमा योगदान दिने र उथलपुथलपूर्ण विश्वमा थप निश्चितता तथा सकारात्मक ऊर्जा प्रवाह गर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री ली छ्याङले सञ्चालन गरेको समारोहमा चाओ लेची, वाङ हुनिङ, छाइ छी, तिङ स्युएस्याङ, ली सी र हान चङसहित करिब ८०० अतिथि सहभागी थिए। चीनले अक्टोबर १ मा राष्ट्रिय दिवस मनाउँछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button