१५ आश्विन २०८३, बिहीबार

धनुषामा बालुवा–गिट्टी झार्दा टिपर पल्टियो, उद्योग सञ्चालकको मृत्यु

ड्रागन मिडिया सम्वाददाता

धनुषाको मिथिला नगरपालिका–३ लालभित्तिमा बालुवा–गिट्टी झार्ने क्रममा टिपर पल्टिँदा उद्योग सञ्चालकको मृत्यु भएको छ। बिहीबार बिहान करिब सवा ७ बजे औरही बाबा बालुवा प्रशोधन उद्योगमा भएको दुर्घटनामा स्थानीय ३६ वर्षीय हरि महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपर पल्टिँदा महतो बालुवा–गिट्टीले पुरिएका थिए। उद्योगमै रहेको जेसीबीको सहायताले उद्धार गरी उनलाई तत्काल रमदैयाँस्थित जानकी मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा बिहान करिब सवा दश बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६ गोदारका ३० वर्षीय हरिबहादुर बिकको खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button