संसदलाई ‘मदिरालय’ नठान्न प्रधानमन्त्रीलाई आङदेम्बेको चेतावनी

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र संसद्प्रतिको व्यवहारमाथि प्रश्न उठाउँदै सरकारलाई संवाद, संस्थागत मर्यादा र जवाफदेहितामा केन्द्रित हुन आग्रह गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले स्पष्ट बहुमतसँगै शासन कौशल, समन्वय, निर्णय क्षमता र परिणाम पनि देखिनुपर्ने बताए।
प्रमुख प्रतिपक्षी दलका नेता आङदेम्बेले संसद सरकारको प्रतिस्पर्धी नभई सरकार, प्रतिपक्ष र जनताको साझा संस्था भएको उल्लेख गरे। प्रधानमन्त्रीको पटक–पटकको अनुपस्थिति र सदनप्रतिको उदासीनता उचित संसदीय अभ्यास नभएको भन्दै उनले कडा टिप्पणी गरे।
‘यो आफूलाई मन लागेको बेला आउने र मन नलाग्दा उठेर जाने मदिरालय होइन,’ उनले भने। लोकतन्त्रमा प्रश्नबाट भाग्नेभन्दा प्रश्नको सम्मान गर्ने सरकार बलियो हुने बताउँदै उनले संसद र प्रतिपक्षले उठाएका विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरे।
प्रधानमन्त्रीको हालैको संयुक्त राष्ट्रसंघीय महासभा भ्रमणबारे पनि आङदेम्बेले प्रश्न उठाए। भ्रमणअघि संसदलाई जानकारी नदिइएको र फर्केपछि पनि गतिविधिबारे सदनलाई अवगत नगराइएको भन्दै उनले संसदीय परम्पराको अवमूल्यन भएको आरोप लगाए।
महासभामा नेपालको सहभागिता आवश्यक रहेको स्वीकार गर्दै उनले जलवायु परिवर्तनसँगै प्रविधि, कृत्रिम बुद्धिमत्ता, प्रविधिमा पहुँचको असमानता, वित्तीय संरचना सुधार र नेपालको भूराजनीतिक सम्भावनाबारे प्रभावकारी प्रस्तुति आवश्यक रहेको बताए। आगामी विश्व जलवायु सम्मेलनमा जलवायुजन्य हानि–क्षति र नेपालको हितलाई प्राथमिकतासाथ उठाउन उनले सुझाव दिए।





