बेइजिङमा मिचाहा कीरा नियन्त्रण गर्न थप ४० करोड परजीवी बारुला परिचालन
ड्रागन मिडिया समाचार कक्ष
चीनको राजधानी बेइजिङले रूख तथा बालीमा क्षति पुर्याउने मिचाहा कीरा नियन्त्रणका लागि थप ४० करोड परजीवी बारुला छाड्न थालेको छ। सोमबारदेखि शुरु गरिएको जैविक नियन्त्रण अभियानले ‘फल वेबवर्म’ नामक कीराको बढ्दो प्रकोप रोक्ने लक्ष्य राखेको सिन्ह्वाले जनाएको छ।
चिनियाँ वन विज्ञान प्रतिष्ठानका प्रमुख वैज्ञानिक तथा उक्त बारुलाका खोजकर्ता याङ चोङछीका अनुसार यस वर्ष यसअघि नै झन्डै ७० करोड बारुला परिचालन गरिएको थियो। वैज्ञानिक नाम ‘चौइओइया कुनेआ याङ’ भएका यी बारुला लक्षित कीराका प्रमुख प्राकृतिक शत्रु हुन्। मानिस र पशुधनका लागि सुरक्षित रहेको उनले बताए।
उत्तर अमेरिकामा उत्पत्ति भएको फल वेबवर्मले ३०० भन्दा बढी वनस्पति प्रजातिमा क्षति पुर्याउन सक्छ। बेइजिङमा रूख, फलफूल, फूल र बालीका २०० भन्दा बढी प्रजाति यसको जोखिममा छन्। वैज्ञानिकका अनुसार यो कीराले वनस्पतिमा क्षति पुर्याए पनि यसको लार्भा र वयस्क मानिसका लागि विषालु वा हानिकारक हुँदैनन्।
बेइजिङमा अहिले तेस्रो पुस्ताका लार्भाले बढी क्षति पुर्याउने समय चलिरहेको छ। परिपक्व लार्भा रूखबाट ओर्लेर प्युपा अवस्थामा प्रवेश गर्ने भएकाले यही चरणलाई लक्षित गरी नियन्त्रणका उपाय अपनाइएको छ। उक्त कीराले वर्षमा तीन पुस्ता उत्पादन गर्छ र प्रत्येक पुस्ताले अण्डा, लार्भा, प्युपा तथा वयस्क गरी चार अवस्था पार गर्छ।
बेइजिङको शहरी भू-दृश्य तथा हरियाली श्रोत संरक्षण केन्द्रका याङ सिहानले यस वर्ष प्रकोप बढ्नुमा तुलनात्मक रूपमा न्यानो हिउँद र गर्मीयामको बारम्बार वर्षा मुख्य कारण रहेको बताए। केही क्षेत्रमा गरिएको सर्वेक्षणअनुसार हिउँद काट्ने प्युपाको जीवित रहने दर सन् २०२३ को ६५.३ प्रतिशतबाट यस वर्ष ८४.२ प्रतिशत पुगेको छ। वर्षाले नियन्त्रणको काममा पनि अवरोध पुर्याएको उनले बताए।
यो कीराको तीव्र प्रजनन क्षमताले नियन्त्रण जटिल बनाएको छ। एउटा पोथीले सामान्यतः ३०० देखि ६०० अण्डा पार्छ भने अनुकूल अवस्थामा दुई हजारसम्म पार्न सक्छ। यस वर्ष विभिन्न पुस्ता र जीवन अवस्थाका कीरा एकै समयमा देखिएका छन्। साँघुरा शहरी स्थान, अग्ला तथा बाक्ला रूख र जमिनबाट औषधि छर्कने उपकरणको सीमित पहुँचले पनि चुनौती थपेको छ।
अधिकारीहरूले शहरभरि झन्डै तीन हजार निगरानीस्थल स्थापना गरेका छन्। कीराको अवस्था, मौसमसम्बन्धी तथ्याङ्क र विशेषज्ञको परामर्शका आधारमा दीर्घकालीन, मध्यमकालीन तथा अल्पकालीन पूर्वसूचना जारी गरिन्छ। जैविक नियन्त्रणसँगै लार्भाका जाला हटाउने र रूखबाट ओर्लने लार्भा समात्न फेदमा कागज तथा कपडा बेर्ने उपाय अपनाइएको छ।
वयस्क कीरा नियन्त्रण गर्न पासो र कीरा मार्ने बत्तीसमेत प्रयोग गरिएको छ। साथै कम विषाक्त तथा वातावरणमैत्री विषादी फरक–फरक समयमा छर्कने काम भइरहेको छ। बेइजिङको वन तथा उद्यान निकायले घरवरपर सुकेका हाँगा, झरेका पात र फोहोर हटाउन तथा जाला देखिएका हाँगा र पात काटेर बन्द झोलामा व्यवस्थापन गर्न नागरिकलाई आग्रह गरेको छ।
सार्वजनिक स्थानका रूखमा खाइएका पात, जाला वा परिपक्व लार्भा देखिए नागरिक सेवाको १२३४५ नम्बर वा स्थानीय हरियाली व्यवस्थापन निकायमा जानकारी दिन अनुरोध गरिएको छ।





