जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको विवरण अभिलेख तयार गर्दै झापा प्रशासन

ड्रागन मिडिया सम्वाददाता
जिल्ला प्रशासन कार्यालय, झापाले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेका विवरण संकलन गरी पुनःस्थापना तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनमा सहयोग पुग्ने अभिलेख तयार गर्न थालेको छ।
अनलाइन फारममार्फत व्यक्तिगत तथा घटनासम्बन्धी विवरण, आर्थिक र सामाजिक अवस्था तथा सरकारसँगका अपेक्षाबारे सूचना संकलन गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। सरकारले उपलब्ध गराउने उपचार, शिक्षा र रोजगारीलगायतका सहायता वास्तविक आवश्यकता र मागसँग जोड्न ती विवरण उपयोगी हुने उनको भनाइ छ।
पोखरेलका अनुसार जिल्लामा हालसम्म दुई सहिद परिवार र सम्पर्कमा आएका ४० जना घाइते छन्। घाइतेमध्ये ३७ जनाले परिचयपत्र पाइसकेका छन् भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले २८ जनाको अवस्थाअनुसार वर्गीकरण गरेको छ।
सरकारले २०८३ असार १८ गते स्वीकृत गरेको २४ बुँदे एकीकृत प्याकेज प्रभावकारी रूपमा कार्यान्वयन गर्न विवरण संकलन शुरु गरिएको प्रशासनले जनाएको छ। सम्पर्कमा नआएका घाइतेलाई आफ्नो विवरण अद्यावधिक गर्न जिल्ला प्रशासन कार्यालयमा यथाशीघ्र सम्पर्क गर्न आग्रह गरिएको छ।





