२ मंसिर २०८३, मंगलवार

राप्रपाको कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाइएपछि पार्टीभित्रै प्रश्न

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशको पदस्थापन तथा अन्तर्क्रिया कार्यक्रममा नेपालको पूर्वराष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाइएपछि पार्टीभित्रै आलोचना भएको छ। पोखराको अमरसिंह चोकस्थित सफल ब्याङ्क्वेटमा सोमबार आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेताहरू उपस्थित थिए।

कार्यक्रममा पूर्वमन्त्री कमल थापा, प्रकाशचन्द्र लोहनी र विक्रम पाण्डे तथा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही सहभागी थिए। पार्टीका एक पदाधिकारीले वरिष्ठ नेताहरू उपस्थित कार्यक्रममा यस्तो गतिविधि हुनु दुःखद भएको प्रतिक्रिया दिएका छन्। पार्टीभित्र यस विषयमा छलफल हुने उनले बताएका छन्।

‘श्रीमान् गम्भीर नेपाली’ २०१८ साल मंसिर ३० देखि राष्ट्रिय गानका रूपमा प्रचलनमा आएको थियो। लोकतान्त्रिक गणतन्त्र स्थापनापछि २०६३ साल जेठमा यसलाई निलम्बन गरिएको थियो। २०६४ साल साउन १८ देखि ‘सयौँ थुँगा फूलका हामी’ नेपालको राष्ट्रिय गानका रूपमा लागू भयो। संविधानको अनुसूची २ मा पनि यही राष्ट्रिय गान उल्लेख छ।

राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ अनुसार राष्ट्रिय गानको प्रयोग निर्धारित व्यवस्थाअनुसार भए–नभएको अनुगमन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमारसिंह गुरुङले कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाइएको हो वा होइन र बजाइएको भए किन बजाइयो भन्नेबारे सम्बन्धित पक्षसँग सोधखोज गर्ने बताएका छन्।

कार्यक्रममा सहभागी शाहीले ‘श्रीमान् गम्भीर नेपाली’ पनि नेपालको राष्ट्रिय गान भएको र राप्रपाको राजसंस्थासम्बन्धी राजनीतिक मान्यताका कारण कार्यक्रममा बजाइएको बताएका छन्। उनले वर्तमान राष्ट्रिय गानप्रति पार्टीको आपत्ति नरहेको पनि बताए।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले संवैधानिक राजसंस्थाको पुनःस्थापना र वैदिक सनातन हिन्दु राष्ट्रलाई आफ्ना प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सार्दै आएको छ। पार्टीले प्रदेश संरचना खारेजीको नीति पनि लिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button