जब्दीघाटमा ६७ करोडको नयाँ पुल बन्ने, ४२ महिनाभित्र निर्माण सक्ने सम्झौता

ड्रागन मिडिया सम्वाददाता
बर्दियाको जब्दीघाटस्थित बबई नदीमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ। गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने दुई लेनको पुल ४२० मिटर लामो र ११ मिटर चौडा हुनेछ।
सडक डिभिजन कार्यालय नेपालगन्ज र चितवनको भरतपुर–३ स्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते निर्माण सम्झौता भएको कार्यालय प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टले जानकारी दिए। सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ।
पुल निर्माणको लागत ६७ करोड ४५ लाख ६९ हजार १५० रुपैयाँ रहेको छ। निर्माण कम्पनीले सम्झौता भएको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन पेस गरी पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ।
सडक डिभिजन कार्यालयले २०८३ असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो। प्रतिस्पर्धामा सहभागी चार निर्माण व्यवसायीमध्ये प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ।
बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले निर्माण कार्य यथाशीघ्र सुरु गरी निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने बताएका छन्। पुल पूर्व–पश्चिम राजमार्गको बारबर्दिया नगरपालिका–७ स्थित रम्मापुर चोकबाट जयनगर बजार हुँदै गुलरिया र नेपाल–भारत सीमास्थित रजनवास जोड्ने प्रमुख सडकमा पर्छ। उक्त मार्ग प्रयोग गर्ने स्थानीयवासी र यात्रुले लामो समयदेखि नदी वारपार गर्न कठिनाइ भोग्दै आएका छन्।
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुरानो पुल हस्तान्तरण हुनुअघि नै २०७२ सालको बाढीले भासिएको थियो। त्यसपछि ठूला सवारीसाधनको आवागमन रोकिए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्साजस्ता साना सवारीसाधन चल्दै आएका थिए। २०७९ सालको बाढीले पुलका चार मुख्य पिलर जोड्ने तीनवटा स्ल्याब बगाएपछि आवागमन पूर्ण रूपमा बन्द भएको इन्जिनियर भट्टले बताए.
बारबर्दिया नगरपालिका–११ फच्कहवाकी मेनका चौधरीका अनुसार अहिले स्थानीयवासीले शुल्क तिरेर डुङ्गा वा काठे पुलबाट नदी पार गर्नुपर्ने बाध्यता छ। नयाँ पुल निर्माणको सम्झौता भएपछि वर्षौंदेखिको सास्ती हट्ने आशा पलाएको उनले बताइन्।
बर्खायाममा बबई नदीमा बाढी आउँदा वारपार गर्न झनै कठिन हुने गरेको छ। पुल नहुँदा गुलरिया नगरपालिका–४ का बासिन्दा सदरमुकाम पुग्न करिब १० किलोमिटर घुम्नुपर्ने वा जोखिम मोलेर डुङ्गाबाट नदी तर्नुपर्ने अवस्था छ। नदी पार गर्न शुल्क तिर्नुपर्दा थप आर्थिक भार पर्ने गरेको स्थानीय राममिलन चौधरीले बताए।





