मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली–पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुस्सु लागेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र तराई क्षेत्रमा आंशिक बादल रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराईका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र तराईमा आंशिक बादल रहनेछ। तराई क्षेत्रमा बिहानीपख हुस्सु लाग्ने र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।





