नानजिङमा नेपाली युवाका लागि कार्यक्रम घोषणा, चिनियाँ लगानीको आह्वान

ड्रागन मिडिया सम्वाददाता
नेपाल–चीन पारस्परिक सहयोग समाजका संस्थापक तथा अध्यक्ष प्रेमसागर पौडेलले चीन भ्रमणका क्रममा चिनियाँ उद्यमी तथा लगानीकर्तालाई नेपालमा लगानी र सहकार्यका लागि आह्वान गरेका छन्। उनले पर्यटन, कृषि, जडीबुटी, ऊर्जा, व्यापारिक पूर्वाधार तथा आयात–निर्यातका क्षेत्रमा नेपाल र चीनबीच सहकार्य विस्तार गर्न सकिने बताए।
आइतबार साँझ नानजिङमा आयोजित बिदाइ रात्रिभोजमा पौडेलले चिनियाँ संस्था र व्यवसायीलाई नेपालको आर्थिक विकासका अवसरबारे बुझ्न तथा साझेदारीका सम्भावना खोज्न आग्रह गरेका थिए। कार्यक्रममा चीन–नेपाल सम्बन्ध र द्विपक्षीय व्यापारिक सहकार्यका विषयमा पनि छलफल भएको थियो।
नेपाली पाहुनाहरूसँगको आत्मीय र मैत्रीपूर्ण संवादको कदर गर्दै एक चिनियाँ कम्पनीले आफ्नै लगानीमा १० लाख चिनियाँ युआन छुट्याएर ‘नेपाली युवा चिनियाँ सपना’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। कार्यक्रम सन् २०२७ जनवरी १ देखि औपचारिक रूपमा सुरु हुनेछ।
कार्यक्रमअन्तर्गत नेपाल सरकार, राजनीतिक दल, उद्योग–व्यवसाय, विश्वविद्यालय, सञ्चारमाध्यम र सामाजिक संस्थासँग आबद्ध २० जना युवा प्रतिभालाई प्रत्येक वर्ष नानजिङ भ्रमण गराइनेछ। सहभागीको उमेर ४० वर्षभन्दा कम हुनुपर्नेछ; विद्यावारिधि उपाधि प्राप्त व्यक्तिका हकमा उमेरको सीमा ४५ वर्ष राखिएको छ। कम्पनीले काठमाडौंदेखि नानजिङसम्मको यात्रा खर्च बेहोर्ने र सहभागीका लागि नानजिङमा पाँचदिने सांस्कृतिक तथा आर्थिक–व्यापारिक भ्रमणको व्यवस्था गर्ने जनाएको छ।
कार्यक्रमले सहभागी युवालाई कम्तीमा पाँच करोड चिनियाँ युआन खुद सम्पत्ति भएका चिनियाँ उद्यमी तथा लगानीकर्तासँग भेटघाट र संवादको अवसर दिनेछ। उनीहरूका व्यापारिक परिकल्पना तथा नेपाल–चीनबीच पारस्परिक लाभ हुने व्यापारिक सहकार्यका विषयमा समेत समन्वय गरिने कम्पनीको भनाइ छ। यसबाट नेपालमा उद्यमशील सोच भएका र आर्थिक रूपमा सफल युवा उद्यमीको पुस्ता विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीले समाजका विभिन्न क्षेत्रका उद्यमी तथा दूरदृष्टि भएका व्यक्तिलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेको छ। नेपाल र चीनबीच व्यापारिक सूचना तथा वस्तुको आदानप्रदान र रणनीतिक सहकार्य विस्तारमा उनीहरूको सहभागिता उपयोगी हुने कम्पनीले जनाएको छ।





