बौद्धबाट श्रोत नखुलेको २४ लाख ४८ हजार नगदसहित एक व्यक्ति पक्राउ, दुई नेपाली नागरिकता बरामद

ड्रागन मिडिया सम्वाददाता
काठमाडौंको बौद्धबाट प्रहरीले श्रोत नखुलेको २४ लाख ४८ हजार नेपाली रुपैयाँ, विभिन्न विदेशी मुद्रा तथा दुईवटा नेपाली नागरिकताको प्रमाणपत्रसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिसँग तिब्बती शरणार्थी परिचयपत्रसमेत फेला परेपछि प्रहरीले उनको नागरिकता, पहिचान तथा बरामद रकमको श्रोतबारे अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–३ स्थायी ठेगाना उल्लेख भएका तथा हाल बौद्धमा बस्दै आएका ४९ वर्षीय टासी लामा रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले रातोपाटीलाई दिएको जानकारीअनुसार बिहीबार लामाको निवासमा खानतलासी गर्दा २४ लाख ४८ हजार नेपाली रुपैयाँ बरामद गरिएको हो।
प्रहरीले उनको साथबाट एक हजार ७६७ चिनियाँ युआन, एक हजार १०७ अमेरिकी डलर र २०० सिंगापुर डलरसमेत बरामद गरेको छ।
खानतलासीका क्रममा तिब्बती शरणार्थी परिचयपत्रसहित फरक–फरक विवरण पेश गरी प्राप्त गरेको आशङ्का गरिएका दुईवटा नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको प्रहरी उपरीक्षक कार्कीले बताएका छन्।
प्रहरीका अनुसार ती नागरिकताका प्रमाणपत्र विक्रम संवत् २०५९ र २०६० सालमा जारी भएको पाइएको छ। नागरिकतामा उल्लेख भएका ठेगाना तथा व्यक्तिगत विवरणका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
बरामद नागरिकताका प्रमाणपत्रको आधिकारिकता, नागरिकता प्राप्त गर्न पेश गरिएका विवरण, जारी गर्ने निकायको अभिलेख तथा लामाको वास्तविक कानुनी हैसियत अनुसन्धानबाट स्पष्ट हुने अपेक्षा गरिएको छ।
बरामद नेपाली तथा विदेशी मुद्राको श्रोत र त्यसको वैधानिकतासम्बन्धी अनुसन्धान पनि जारी रहेको छ।
यस घटनाले नागरिकता वितरण प्रक्रियामा विवरण प्रमाणीकरण, सरकारी अभिलेख व्यवस्थापन तथा श्रोत नखुलेको नगद कारोबारको निगरानीसम्बन्धी प्रश्न उठाएको छ।
लामाविरुद्ध लगाइने औपचारिक अभियोग तथा बरामद रकम र कागजातसम्बन्धी अनुसन्धानको निष्कर्ष प्रहरीले सार्वजनिक गरिसकेको छैन।





