भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई मासिक १७ हजार ५०० रुपैयाँ सहायता

ड्रागन मिडिया सम्वाददाता
सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, भरणपोषण तथा स्याहारका लागि विशेष सहायता कार्यक्रम शुरु गरेको छ। बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा उच्च जोखिममा रहेका बालबालिकालाई लक्षित गरी शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र मनोसामाजिक सहयोगसहित संरक्षणको व्यवस्था गर्न लागिएको हो।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीबाट बिहीबार शुरु गरिएको कार्यक्रमअन्तर्गत बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई पहिलो महिनाको आर्थिक सहायता उपलब्ध गराइएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा १७ हजार ५०० रुपैयाँ जम्मा गर्दै कार्यक्रमको शुभारम्भ गरेकी हुन्।
कान्तिपुरका अनुसार योजनाअन्तर्गत ती बालिकाले १८ वर्ष उमेर पूरा नगरेसम्म आमासँगै पारिवारिक वातावरणमा रहेर मासिक १७ हजार ५०० रुपैयाँ आर्थिक सहायता प्राप्त गर्नेछिन्।
मन्त्री वादीले बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षणको आवश्यकता रहेका अन्य बालबालिकाका लागि पनि दीर्घकालीन संरक्षण र भरणपोषणको व्यवस्था गरिने बताइन्।
उनले विपद प्रभावित बालबालिकालाई सहयोग तथा संरक्षण गर्ने नाममा कुनै पनि व्यक्ति वा संस्थाले आफूखुसी अन्यत्र लैजान नपाउने स्पष्ट पारिन्। स्थानीय तहको सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषदको समन्वय र सहमतिबिना बालबालिकालाई बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान नपाइने उनको भनाइ थियो।
बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर उद्धार, संरक्षण तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै मन्त्री वादीले उनीहरूको शारीरिक, मानसिक, शैक्षिक तथा सामाजिक विकासलाई ध्यानमा राखेर सरकारले दीर्घकालीन स्याहार योजना कार्यान्वयन गरिरहेको बताइन्।
राष्ट्रिय बाल अधिकार परिषद र शेष घलेद्वारा सञ्चालित एमआईटी ग्लोबल फाउन्डेसनको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको हो।
मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकालाई पनि एमआईटी ग्लोबल फाउन्डेसन, एसओएस चिल्ड्रेन्स भिलेजलगायत साझेदार संस्थाको सहकार्यमा आवश्यक संरक्षण तथा स्याहार सेवा उपलब्ध गराइनेछ।
राष्ट्रिय बाल अधिकार परिषदकी सदस्यसचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँचवटा टोली गत सातादेखि बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। ती टोलीले प्रभावित बालबालिकाको पहिचान, जोखिम मूल्याङ्कन, पारिवारिक अवस्थाको अध्ययन तथा दीर्घकालीन स्याहार योजना निर्माण गरिरहेका छन्।
मन्त्री वादीका अनुसार सरकार र विभिन्न साझेदार संस्थाको सहकार्यमा हालसम्म ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारका लागि सहयोगको व्यवस्था मिलाइएको छ।
यसअन्तर्गत एमआईटी ग्लोबल फाउन्डेसनमार्फत १५०, एसओएस चिल्ड्रेन्स भिलेजमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिकालाई सहयोग उपलब्ध गराइनेछ।
मन्त्रालयअन्तर्गतको बालकोषमा सात करोड रुपैयाँ रहेको जानकारी दिँदै मन्त्री वादीले बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण तथा स्याहारका लागि नेपाल सरकार र एमआईटी ग्लोबल फाउन्डेसनबीच ५८ करोड रुपैयाँ बराबरको सम्झौता भइसकेको बताइन्।
विपद प्रभावित बालबालिकालाई सकेसम्म आफ्नै परिवार तथा समुदायमा राखेर संरक्षण गर्ने यस कार्यक्रमले उनीहरूको पारिवारिक सम्बन्ध, शिक्षाको निरन्तरता, सामाजिक सुरक्षा तथा समग्र विकास सुनिश्चित गर्ने लक्ष्य राखेको छ।





