बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले थप ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने

ड्रागन मिडिया सम्वाददाता
बैंक तथा वित्तीय संस्थामा निक्षेप निरन्तर बढ्दै गए पनि कर्जा प्रवाहले अपेक्षित गति लिन नसकेपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। लगानीयोग्य रकम पर्याप्त हुँदासमेत कर्जाको माग कमजोर रहेपछि केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत अतिरिक्त तरलता व्यवस्थापन गर्न लागेको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार दुई महिनाका लागि ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्न अनलाइन बोलकबोल आह्वान गरिएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले शुक्रबार दिउँसो २ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन्।
निक्षेप सङ्कलनको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोडदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्मको प्रस्ताव पेश गर्न सक्नेछन्। प्रस्तावित रकम १० करोड रुपैयाँको गुणकमा हुनुपर्ने व्यवस्था गरिएको छ।
बैंक तथा वित्तीय संस्थाले एउटै वा फरक–फरक ब्याजदरमा एकभन्दा बढी प्रस्ताव पेश गर्न सक्नेछन्। सङ्कलित निक्षेपको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी गरिनेछ। यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
रातोपाटीले उद्धृत गरेको राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ६१ खर्ब १८ अर्ब रुपैयाँमा सीमित छ।
कुल निक्षेपमध्ये वाणिज्य बैंकमा ७७ खर्ब १२ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थामा आठ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ। त्यसैगरी वाणिज्य बैंकले ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी छ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ।
बैंकिङ प्रणालीको कर्जा–निक्षेप अनुपात (सीडी अनुपात) ७१.१६ प्रतिशतमा सीमित रहेको छ। नियामकीय व्यवस्थाअनुसार यो अनुपात अधिकतम ९० प्रतिशतसम्म कायम गर्न सकिने भए पनि कर्जाको कमजोर मागका कारण बैंक तथा वित्तीय संस्थाको उपलब्ध कर्जा प्रवाह क्षमता पूर्ण रूपमा उपयोग हुन सकेको छैन।
चालु आर्थिक वर्षको मंसिर ११ गतेसम्म राष्ट्र बैंकका विभिन्न तरलता प्रशोचन उपकरणमा कुल १३ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ। त्यसमध्ये राष्ट्र बैंक ऋणपत्रमा चार खर्ब रुपैयाँ, निक्षेप सङ्कलन उपकरणमा आठ खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामा एक खर्ब ४० अर्ब ३० करोड रुपैयाँ रहेको छ।
यस अवधिमा केन्द्रीय बैंकले सामान्य निक्षेप सङ्कलन उपकरण २९ पटक प्रयोग गर्दै एक खर्ब ६८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ। त्यस्तै स्थायी निक्षेप सुविधा ८० पटक प्रयोग गरी नौ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध रहेकाले यस अवधिमा तरलता प्रवाह गर्ने रिपो, सोझै खरिद, ओभरनाइट रिपो तथा स्थायी तरलता सुविधामार्फत भने कारोबार भएको छैन।
अधिक तरलताको प्रभाव अन्तरबैंक ब्याजदरमा पनि देखिएको छ। बैंक तथा वित्तीय संस्थाबीच हुने अल्पकालीन सापटीको ब्याजदर घटेर २.७५ प्रतिशतमा झरेको छ।
बैंकिङ प्रणालीमा निक्षेप वृद्धि, न्यून अन्तरबैंक ब्याजदर र कमजोर कर्जा प्रवाहको अवस्थाले वित्तीय श्रोतलाई उत्पादनशील आर्थिक गतिविधिमा परिचालन गर्ने चुनौती देखाएको छ। अधिक तरलता प्रशोचनले अल्पकालीन मौद्रिक व्यवस्थापनमा सहयोग पुर्याए पनि कर्जाको माग बढाउन र उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न व्यापक आर्थिक सुधार तथा व्यावसायिक विश्वास अभिवृद्धि आवश्यक देखिन्छ।
बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध हुँदाहुँदै पनि कर्जा विस्तार अपेक्षाकृत कमजोर रहनुले वित्तीय श्रोतको उपलब्धता र वास्तविक अर्थतन्त्रको लगानी मागबीचको अन्तरलाई उजागर गरेको छ।





