जमुनाह नाकामा कडाइपछि रुपैडिहा जाने नेपाली उपभोक्ता घटे

ड्रागन मिडिया सम्वाददाता
नेपालगञ्जस्थित जमुनाह नाकामा जाँच कडाइ गरिएपछि यसपटक दसैँको किनमेलका लागि सीमापारि भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या घटेको छ। विगतका वर्षमा दसैँ र तिहारअघि नेपाली ग्राहकले भरिभराउ हुने रुपैडिहा बजारमा यसपालि चहलपहल कम देखिएको छ।
दसैँका लागि नयाँ लुगा र घरायसी सामग्री किन्न जमुनाह नाका हुँदै दैनिक ठूलो सङ्ख्यामा नेपाली रुपैडिहा जाने गर्थे। यसपटक भने सीमा नाकामा जाँच र भन्सारसम्बन्धी नियम कडाइ गरिएपछि उपभोक्ताको आवागमन घटेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका सदस्य तोपबहादुर थापाले बताए।
गत वैशाखदेखि नेपालगञ्ज भन्सार नाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान भन्सार प्रक्रिया पूरा नगरी ल्याउन रोक लगाइएको थियो। अहिले उक्त सीमा बढाएर ५०० रुपैयाँ पुर्याइएको छ। ५०० रुपैयाँभन्दा बढी मूल्यका सामान जाँच गराउनुपर्ने व्यवस्था र दुवैतर्फ लामो समय लाइन बस्नुपर्ने अवस्थाले रुपैडिहा जाने उपभोक्ता घटेको नेपालगञ्ज–२१, पुरैनाकी सिर्जना थापाले बताइन्।
नेपाली ग्राहकको आवागमन घटेसँगै रुपैडिहाका पसलमा पनि चहलपहल कम भएको छ। यता, नेपालगञ्जका भाटभटेनी र वेस्टर्न मार्टजस्ता ठूला पसलमा नेपाली उपभोक्ताको आकर्षण बढेको उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताए। उनले सीमापारि जान कम भएका उपभोक्तालाई नेपालगञ्जमै किनमेल गर्ने वातावरण बनाउन स्थानीय व्यापारी र उद्योग वाणिज्य सङ्घले पहल गर्नुपर्ने सुझाव दिए।
चाडपर्वका बेला नेपाली बजारमा मूल्य बढाउने र सामान अभाव गराउने प्रवृत्ति रोक्न नियमित बजार अनुगमन गर्नुपर्ने पनि ठकुरीको भनाइ छ।
सीमापारि किनमेल गर्ने उपभोक्ता घटे पनि नेपालगञ्जका पसलमा बिक्री सोही अनुपातमा बढेको छैन। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीका अनुसार, तस्करी विगतको तुलनामा घटेको अनुमान छ। तर मुख्य नाकामा कडाइ भए पनि खुला सीमाका कारण भित्री नाकाबाट हुन सक्ने तस्करी रोक्न त्यस्ता क्षेत्रमा निगरानी बढाउनुपर्ने उनले बताए।





