२७ आश्विन २०८३, मंगलवार

तिब्बतमा सात वर्षको अनुसन्धानपछि दहीका छ स्थानीय किण्वक छनोट

ड्रागन मिडिया सम्वाददाता

तिब्बतका स्थानीय दुग्धजन्य पदार्थमा पाइने सूक्ष्मजीवको सात वर्षसम्म अध्ययन गरेपछि अनुसन्धानकर्ताले दही उत्पादनका लागि उपयोगी छ वटा स्थानीय किण्वक छनोट गरेका छन्। ती किण्वकबाट जमाइएको दहीको स्वाद स्थिर राख्न र व्यावसायिक उत्पादनमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरूको भनाइ छ।

तिब्बत स्वायत्त क्षेत्रको कृषि तथा पशुपालन विज्ञान प्रतिष्ठानअन्तर्गत कृषि उत्पादन विकास तथा खाद्य विज्ञान अनुसन्धान संस्थानले चीनको खाद्य किण्वन उद्योग अनुसन्धान संस्थानसँग मिलेर यो अध्ययन गरेको हो। टोलीले सन् २०१८ देखि तिब्बतका सात क्षेत्र र सहर तथा ६८ जिल्ला र नगरबाट दही, छुर्पी र जौको मदिरामा प्रयोग हुने किण्वकका ४६८ नमुना सङ्कलन गरेको थियो।

टोलीले दुई हजारभन्दा बढी सूक्ष्मजीव छुट्याएर शुद्धीकरण, पहिचान र संरक्षण गरेको छ। ४१ जिल्लाका स्थानीय किण्वकको वितरण देखाउने नक्सासमेत तयार गरिएको छ। अनुसन्धानकर्ताले तीमध्ये ७०० भन्दा बढी समूहको किण्वन क्षमता र स्वादमा पार्ने प्रभाव अध्ययन गरी व्यावसायिक उत्पादनका लागि उपयुक्त छ वटा छनोट गरेका हुन्।

प्रतिष्ठानको कृषि उत्पादन विकास तथा खाद्य विज्ञान अनुसन्धान संस्थानका प्रमुख झाङ युहुङका अनुसार, स्थानीय किण्वकबारे अनुसन्धान तिब्बतको जौबाट बनाइने मदिरामा प्रयोग हुने सूक्ष्मजीव पहिचानबाट सुरु भएको थियो। पछि प्रादेशिक विज्ञान तथा प्रविधि निकायमा परियोजना पेस गरी थप व्यवस्थित अनुसन्धान अघि बढाइएको उनले बताए।

अनुसन्धानमा छनोट गरिएका किण्वकलाई संयोजन गरेर प्रयोग गर्दा दहीको स्वाद सुधारिएको र त्यसमा रहेको कोलेस्ट्रोलको मात्रा घटाउन सकिएको टोलीले जनाएको छ। यस प्रभावबारे जनावरमा गरिएको परीक्षण सफल भएको अनुसन्धान विवरणमा उल्लेख छ। यसले मानिसको स्वास्थ्यमा पार्ने प्रभाव भने पुष्टि गर्दैन।

अनुसन्धानकर्ताका अनुसार, चीनका दुग्धजन्य पदार्थ उत्पादकले लामो समयदेखि दही जमाउने किण्वक धेरैजसो बाहिरबाट ल्याउँदै आएका थिए। तिब्बतमा पहिचान गरिएका स्थानीय किण्वकले स्वदेशमै उत्पादन गर्ने सम्भावना बढाउनुका साथै घरेलु उत्पादनबाट मापदण्डअनुसारको व्यावसायिक उत्पादनतर्फ अघि बढ्न सहयोग गरेको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button