अडियो प्रकरणपछि सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

ड्रागन मिडिया सम्वाददाता
सांसद खगेन्द्र सुनारसँग सम्बन्धित अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यममा सार्वजनिक आरोपमा महिलाको मर्यादामा आँच पुर्याउने कार्य, अनुचित दबाब, धम्की र शंकास्पद आर्थिक लेनदेनका विषय उठेकाले पार्टीले त्यसलाई गम्भीरतापूर्वक लिएको उल्लेख छ।
पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ। राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यसमा पार्टीले पूर्ण सहयोग गर्ने पनि रास्वपाले जनाएको छ।
राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने विज्ञप्तिमा उल्लेख छ। आरोपबारे स्वतन्त्र अनुसन्धान र छानबिनको निष्कर्ष आउन बाँकी छ।





