सिड्नीको मालवाहक केन्द्रमा आक्रामक रातो आगो कमिलाको गुँड फेला

ड्रागन मिडिया समाचार कक्ष
अस्ट्रेलियाको सिड्नीस्थित मालवाहक तथा भण्डारण केन्द्रमा आक्रामक रातो आयातित आगो कमिलाको गुँड फेला परेपछि जैवसुरक्षा प्रतिकार्य शुरु गरिएको छ। न्यू साउथ वेल्स राज्य सरकारले मंगलबार दिएको जानकारीअनुसार उक्त केन्द्र सिड्नीको मध्यभागबाट ११ किलोमिटर पश्चिममा पर्छ।
संघीय कृषि, मत्स्यपालन तथा वन मन्त्रालयका अधिकारीले गुँड फेला पारेका थिए। कीटविज्ञहरूले कमिलाको पहिचान रातो आयातित आगो कमिलाका रूपमा गरेका छन्। विशेष तालिमप्राप्त कुकुरबाट गरिएको खोजीमा केन्द्र वा आसपासका क्षेत्रमा थप गुँड भने भेटिएनन्।
राज्य सरकारले राष्ट्रिय आगो कमिला उन्मूलन कार्यक्रमको परीक्षणबाट सिड्नीमा भेटिएका कमिला क्विन्सल्यान्डबाट नभई विदेशबाट मालवाहक कन्टेनरमार्फत आएको हुन सक्ने देखिएको जनाएको छ। अस्ट्रेलियामा यो प्रजाति सन् २००१ मा क्विन्सल्यान्डको ब्रिसबेन बन्दरगाहमा पहिलोपटक फेला परेको थियो। त्यसपछि संघीय सरकारले यसको उन्मूलनका लागि राष्ट्रिय कार्यक्रम शुरु गरेको थियो।
न्यू साउथ वेल्स सरकारले घटनाको व्यवस्थापनका लागि टोली गठन गरी मालवाहक केन्द्र वरपर दुई किलोमिटर क्षेत्रभित्र निगरानी गर्ने जनाएको छ। माटो, दुबो, निर्माण सामग्री वा वनस्पतिको कारोबार गर्ने स्थानीय व्यवसायलाई प्राथमिकतामा राखेर खोजी गरिनेछ।
अस्ट्रेलिया इन्स्टिच्युटले जुनमा प्रकाशित प्रतिवेदनमा आगो कमिला देशभर फैलिए ठूलो वातावरणीय, सामाजिक र आर्थिक क्षति हुन सक्ने चेतावनी दिएको थियो। प्रतिवेदनले यस्तो प्रजाति फैलिए प्रत्येक वर्ष ८३ लाख मानिसलाई टोक्न सक्ने र एलर्जीका कारण हुने गम्भीर प्रतिक्रियाबाट ३३ जनाको मृत्यु हुन सक्ने अनुमान गरेको छ। आक्रामक प्रजाति परिषद्का अनुसार अस्ट्रेलियाको ९५ प्रतिशतभन्दा बढी भूभागमा आगो कमिला फैलिन उपयुक्त अवस्था छ।





