२७ आश्विन २०८३, मंगलवार

सुनारसँग जोडिएको अडियोपछि महिला र बालकको सुरक्षा गर्न झाँक्रीको आग्रह

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका बाँके क्षेत्र नं. ३ का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको विवादास्पद अडियो सार्वजनिक भएपछि पूर्वमन्त्री रामकुमारी झाँक्रीले सम्बन्धित महिला र उनका नाबालक बच्चाको सुरक्षा तत्काल सुनिश्चित गर्न सरकार र नेपाल प्रहरीसँग आग्रह गरेकी छन्।

झाँक्रीले सामाजिक सञ्जालमा लेख्दै अडियोमा महिलालाई अश्लील गालीगलौज र ज्यान मार्ने धम्की दिइएको सुनिएको बताएकी छन्। उनका अनुसार, महिलाको बच्चालाई समेत अपमानजनक शब्द प्रयोग गरी मार्ने धम्की दिइएको छ। बच्चामाथि कुनै दोष नभएको भन्दै उनले यस्तो व्यवहार अस्वीकार्य रहेको र बालकको सुरक्षामा जोखिम हुन सक्ने चिन्ता व्यक्त गरेकी छन्।

“अपराधीमाथि कारबाहीभन्दा पहिले पीडितको सुरक्षाको सवाल आउँछ,” झाँक्रीले लेखेकी छन्। उनले प्रहरीलाई महिला र बच्चाको तत्काल सुरक्षा व्यवस्था गर्न, आवश्यक परे उद्धार गर्न र त्यसपछि घटनाको अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउन आग्रह गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि यस विषयमा तत्काल ध्यानाकर्षण हुनुपर्ने र पार्टीले घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने उनको माग छ।

जनआस्था साप्ताहिकले सोमबार सांसद सुनारसँग सम्बन्धित भएको दाबी गर्दै महिलासँगको भनिएको संवादका चारवटा अडियो सार्वजनिक गरेको थियो। जनआस्थाको समाचारमा ती अडियोमा महिलालाई गालीगलौज, धम्की र रकम मागिएको सुनिने उल्लेख छ। अडियोको सत्यता र त्यसमा सुनिने आवाजको आधिकारिक पुष्टि भने सार्वजनिक भएको छैन।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन थालेको जनाएको छ। छानबिन निष्कर्षमा नपुगेसम्म उनलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको पार्टीको विज्ञप्तिमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button