सुनारको दाबी– निष्पक्ष छानबिनमा सघाउन तयार छु

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका बाँके क्षेत्र नं. ३ का सांसद खगेन्द्र सुनारले आफूसँग जोडिएको विवादास्पद अडियोबारे निष्पक्ष छानबिनमा सघाउन तयार रहेको बताएका छन्। उनले अडियो आफूलाई बदनाम गर्ने उद्देश्यले तयार गरिएको दाबी गरेका छन्। यसैबीच, पूर्वमन्त्री रामकुमारी झाँक्रीले अडियोमा लक्षित भनिएकी महिला र उनका नाबालक बच्चाको सुरक्षा तत्काल सुनिश्चित गर्न सरकार र नेपाल प्रहरीसँग आग्रह गरेकी छन्।
रातोपाटीमा प्रकाशित विवरणअनुसार, मंगलबार सार्वजनिक भिडियोमा सुनारले अडियोमा काल्पनिक व्यक्तिलाई जोडेर आफ्नै जस्तो सुनिने स्वर प्रयोग गरिएको जिकिर गरेका छन्। सार्वजनिक लेखा समितिमा आफूले प्रहरीभित्रको भ्रष्टाचारबारे प्रश्न उठाएपछि सञ्चारमाध्यममार्फत चरित्रहत्या र आक्रमण भइरहेको उनको भनाइ छ। आफूले कुनै कमजोरी गरेको प्रमाणित भए सांसद पद त्याग्न तयार रहेको बताउँदै उनले भनेका छन्, “रौँ जत्ति पनि मेरो केही देखिए चारपाटा मोडेर चार भञ्ज्याङ कटाउँदा पनि मलाई आपत्ति छैन।”
झाँक्रीले सामाजिक सञ्जालमा लेख्दै सार्वजनिक अडियोमा महिलालाई अश्लील गालीगलौज र ज्यान मार्ने धम्की दिइएको सुनिएको बताएकी छन्। उनका अनुसार, महिलाका नाबालक बच्चालाई समेत अपमानजनक शब्द प्रयोग गरी मार्ने धम्की दिइएको छ। बच्चाको कुनै दोष नभएको भन्दै उनले महिला र बालकको सुरक्षामा जोखिम हुन सक्ने चिन्ता व्यक्त गरेकी छन्।
“अपराधीमाथि कारबाहीभन्दा पहिले पीडितको सुरक्षाको सवाल आउँछ,” झाँक्रीले लेखेकी छन्। उनले तत्काल सुरक्षा व्यवस्था गर्न, आवश्यक परे उद्धार गर्न र त्यसपछि घटनाको अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउन प्रहरीसँग आग्रह गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ध्यानाकर्षण गराउँदै उनले पार्टीले घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने माग पनि गरेकी छन्।
जनआस्था साप्ताहिकले सोमबार सुनारसँग सम्बन्धित भएको दाबी गर्दै महिलासँगको भनिएको संवादका चारवटा अडियो सार्वजनिक गरेको थियो। जनआस्थाको समाचारमा अडियोमा महिलालाई गालीगलौज, धम्की र रकम मागिएको सुनिने उल्लेख छ। अडियोको सत्यता र त्यसमा सुनिने आवाजको आधिकारिक पुष्टि भएको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीले अडियो र त्यससँग जोडिएका आरोपबारे आन्तरिक छानबिन थालेको जनाएको छ। छानबिन निष्कर्षमा नपुगेसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको पार्टीको विज्ञप्तिमा उल्लेख छ।





