११ कार्तिक २०८३, मंगलवार

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३२ हजार ९६३ विदेशी पर्यटक

ड्रागन मिडिया सम्वाददाता

असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। तीमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।

आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार गत वर्षको असोजको तुलनामा यस वर्ष २ हजार ४१६ पर्यटक बढी आएका हुन्। गत वर्ष असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले क्षेत्रको भ्रमण गरेका थिए।

चालु आर्थिक वर्षमा असोजमा सबैभन्दा बढी पर्यटक आएका छन्। भदौमा १७ हजार ९१३ र साउनमा २६ हजार ५९१ पर्यटकले भ्रमण गरेका थिए। असोज र कात्तिक मुख्य पर्यटकीय याम भएकाले यो अवधिमा आगमन बढ्ने कडरियाले बताए।

आयोजनाले अन्नपूर्ण चक्रीय पदमार्गमा घुम्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्छ। सडकमार्ग हुँदै आउने आन्तरिक पर्यटक यसमा समेटिँदैनन्। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र घोडेपानी यस क्षेत्रका प्रमुख गन्तव्य हुन्।

७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button