जोखिमयुक्त घरमा फर्कँदै बाढीपीडित, पुनःस्थापना अन्योलमा

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी बाढीबाट विस्थापित केही परिवार सुरक्षित बसोबासको व्यवस्था नहुँदा क्षतिग्रस्त पुरानै घरमा फर्किन थालेका छन्। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटका रामकुमार भण्डारी सात सदस्यीय परिवारसहित घर फर्किएका छन्। घरभाडा तिर्न र बिरामी आमालाई अर्काको घरमा राख्न कठिन भएपछि जोखिम मोलेरै फर्किएको उनले बताए। उनका अनुसार आसपासका १५ परिवार पनि बाढीले पुरेका घरमा बस्न थालेका छन्।
सरकारले जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाउन नदिने र वैकल्पिक व्यवस्था नहुँदासम्म बढीमा छ महिनाका लागि मासिक घरभाडा सहायता दिने निर्णय गरेको छ। चार जनासम्मको परिवारलाई मासिक १५ हजार र थप प्रत्येक सदस्यलाई दुई हजार रुपैयाँ दिने व्यवस्था भए पनि सहायता वितरणको अवस्था स्पष्ट छैन। विदुर नगरपालिकाका प्रवक्ता रवीन्द्र नेपालले नगरपालिकाले घरभाडा सहायता नदिएको र त्यसका लागि रकमसमेत नपाएको बताए।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारले स्थानीय तहले पहिचान गरेका ४ हजार १०८ घरपरिवारलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत दिएको छ। तर मासिक घरभाडा सहायता पाउनेको विवरण उपलब्ध छैन। असोज २९ सम्म १३ आश्रयस्थलमा ९४३ विस्थापित रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।
घरको प्राविधिक परीक्षण, सुरक्षित जग्गाको उपयुक्तता र पुनःस्थापनाको समयसीमाबारे स्पष्ट निर्णय नहुँदा विस्थापित परिवार अन्योलमा छन्। राष्ट्रिय योजना आयोगको सर्वेक्षणमा घरमा क्षति पुगेका ३ हजार ६७ परिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै ठाउँमा बस्न चाहेको देखिएको छ। सरकारले भने रसुवा र नुवाकोटमा तीन हजारभन्दा बढी जग्गाका कित्ता पहिचान गरिएको जनाएको छ। तीमध्ये कति परिवार बस्न सक्छन् भन्ने विवरण र आवश्यक पूर्वाधारको व्यवस्था अझै स्पष्ट छैन।





