भारत–चीन सीमा गस्तीबारे आरोपलाई आधारहीन भन्दै चीनको खण्डन

ड्रागन मिडिया समाचार कक्ष
भारत–चीन सीमा क्षेत्रमा चिनियाँ सैनिकले स्थापित गस्ती ढाँचाभन्दा बाहिर गएर तनाव सिर्जना गरेको भन्ने भारतीय पक्षको आरोपलाई चीनले अस्वीकार गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ चियाखुनले चीनले दुई देशबीच भएका सम्बन्धित सम्झौता र समझदारीको कडाइका साथ पालना गर्दै आफ्नो क्षेत्रीय अखण्डता र सीमावर्ती स्थिरता कायम राख्न नियमित गस्ती तथा नियन्त्रणका गतिविधि सञ्चालन गर्ने बताएका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले अक्टोबर २३ मा चिनियाँ सैनिक स्थापित गस्ती ढाँचाबाट विचलित हुँदा सीमा क्षेत्रमा समय–समयमा तनाव उत्पन्न हुने बताएका थिए। दुवै पक्षले कूटनीतिक र सैन्य संयन्त्रमार्फत बाँकी मुद्दा समाधान गर्ने तथा वास्तविक नियन्त्रण रेखामा गलत बुझाइ र गलत आकलन रोक्ने प्रयास जारी राखेको पनि उनले बताएका थिए।
चिनियाँ प्रवक्ता कुओले दुवै देशबीच कूटनीतिक र सैन्य माध्यमबाट संवाद भइरहेको उल्लेख गर्दै पुराना समझदारी कार्यान्वयन गर्न र सीमावर्ती क्षेत्रमा शान्ति तथा स्थिरता कायम राख्न भारतसँग सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।
ग्लोबल टाइम्ससँग कुरा गर्दै छिङह्वा विश्वविद्यालयको राष्ट्रिय रणनीति संस्थानका अनुसन्धान विभाग निर्देशक छियान फङले भारतीय पक्षका सार्वजनिक आरोपलाई गस्तीसम्बन्धी विषयमा गरिएको रणनीतिक चालका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यसमा घरेलु राजनीतिक विचारले पनि भूमिका खेलेको हुन सक्छ, यद्यपि कूटनीतिक र सैन्य संवादका लागि ठाउँ बाँकी छ।
भारत र चीनका नेताहरूले सेप्टेम्बर १२ मा नयाँदिल्लीमा भएको १८औँ ब्रिक्स शिखर सम्मेलनका अवसरमा भेट गरेका थिए। दुवै देश साझेदारका रूपमा अघि बढ्नुपर्ने र द्विपक्षीय सम्बन्ध तथा सीमा समस्या सँगसँगै अघि बढाउनुपर्ने समझदारी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
छियानले सीमा विवादलाई स्थापित संयन्त्रमार्फत व्यवस्थापन गर्नुपर्ने र छुट्टाछुट्टै घटनाले समग्र द्विपक्षीय सम्बन्धमा असर पार्न नदिनुपर्ने बताएका छन्। उनका अनुसार संवेदनशीलता कम भएका क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्दा मतभेदको नकारात्मक प्रभाव घटाउन र सम्बन्धबारे सन्तुलित जनधारणा बनाउन मद्दत पुग्न सक्छ।
स्थिर भारत–चीन सम्बन्धले दुई ठूला अर्थतन्त्रबीचको सहकार्यको सम्भावना खोल्ने, रणनीतिक दबाब घटाउने र एसियाको शान्ति तथा विकासमा योगदान गर्ने छियानको भनाइ छ।





