११ कार्तिक २०८३, मंगलवार

मन्त्रीको तस्बिर जलाएको आरोपमा लुम्बिनी अभियानका अध्यक्ष पक्राउ

ड्रागन मिडिया सम्वाददाता

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएको विरोधमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको तस्बिर जलाएको आरोपमा लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खान पक्राउ परेका छन्।

जिल्ला प्रहरीका अनुसार सोमबार राति साढे १० बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का खान र वडा नम्बर ९, पिपराका वाजिउद्दिन मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको नेतृत्वमा गएको टोलीले दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाएको थियो।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले घटनाबारे अनुसन्धान भइरहेको बताए।

महाअभियानले सोमबार साँझ पर्सा चोकमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै प्रदर्शन गरेको थियो। त्यस क्रममा पनि मन्त्री पौडेलको तस्बिर जलाइएको सूचना पाएपछि घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

महाअभियानका सहसंयोजक रामविकास चौधरीले नियुक्तिको विरोध दबाउन पक्राउ गरिएको आरोप लगाउँदै अध्यक्ष खानलाई रिहा गर्न माग गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button